गण्डकीसमाचार

कानूनमन्त्री गाहामगर गृह जिल्ला भ्रमणमा

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले गृह जिल्ला नवलपुरका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको निरिक्षण गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला पुगेर प्रहरी कार्यालय र त्रिवेणी भन्सारको स्थलगत अनुगमन गरेका हुन् । स्थलगत अवलोकनका क्रममा मन्त्री गाहामगरले छिमेकी राष्ट्र भारतसँगको सिमानामा रहेको इलाका प्रहरी कार्यालय त्रिवेणी, सोही सीमामै रहेको सशत्र प्रहरी बलको विओपी, बुलिङटार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय डेढगाउँको निरिक्षण गरेका थिए ।

अवलोकन पश्चात प्रहरी कार्यालयलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रहेकाले सोही अनुरुप अघि बढ्ने मन्त्री गाहामगरले बताए । ‘अनुगमन पछि मैले सिमित स्रोत र साधनले उच्च मनोबलसहित देश र जनताको सेवामा समर्पित भएको देखे, मन्त्री गाहामगरले भने, राष्ट्रसेवकहरुको न्यूनतम र आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरि तयारी थाल्नेछौ ।’

उनले अनुगमन गरेका दुई इलाका प्रहरी कार्यालय १ वटा बिओपी र एक प्रहरी चौकीको बेग्लाबेग्लै समस्या रहेको बताउदै समाधान गर्न मन्त्रालय पछि नहट्ने बताए । ‘मैले मात्रै होइन मन्त्रालयका कर्मचारीहरुको टिमले नै निरिक्षण गरेका छौं, कानूनको परिधिमा रहेर के कति सम्म सहयोग गर्न मिल्छ, हामीले प्राथमिकतामा राखेर नै काम गर्छाै ।’ मन्त्री गाहामगरले भने ।

सीमाक्षेत्रमा खटिएका प्रहरी तथा सशत्र प्रहरीका लागि विपद् व्यवस्थानका लागि उद्धारका समाग्री, सुरक्षा र गतिविधिको प्रत्यक्ष निगरानी बढाउने उद्देश्यसहित सिसिटिभी जडान, प्रहरी कार्यालयको कम्पाउण्डिङ गरिनुपर्ने सम्बन्धित प्रहरी कार्यालयले माग राखेको थियो । सो मागहरु पूरा गर्नका लागि मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरेर अगाडी बढ्ने बताए ।

‘स–साना कामहरु यहीकै स्थानीय सरकारले गर्नुहुन्छ । त्यसका लागि हामी उहाँहरुसँग समन्वय गर्नुहोला । बाँकी ठुला कामहरुका लागि मन्त्री ज्यूनै फिल्ड भिजिटमा हुनुहुन्छ त्यो कामहरुका लागि चिन्ता नलिनुहोला ।’ सचिव अधिकारीले भने । मन्त्री गाहामगर नेतृत्वको निरिक्षण टोलीमा आन्तरिक मामिला तथा कानून मन्त्रलायका सचिव बद्रीनाथ अधिकारी तथा शाखा अधिकृतहरुको सहभागिता थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला पुगेका रोशन बहादुर गाहा थापा मगर सम्मानसमेत गरिएको थियो । तीन दिने स्थलगत अवलोकनसहित गृहजिल्ला नवलपुर पुगेका मन्त्री गाहामगरलाई विभिन्न सामाजिक संस्थाले सम्मान अर्पण गरेका थिए ।

सम्मान ग्रहणपश्चात बोल्दै मन्त्री गाहामगरले ‘समृद्ध गण्डकी प्रदेश सुखी प्रदेशबासी’को नारालाई साकार पार्न निरन्तर लागिरहने प्रतिबद्धता जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button