कास्कीगण्डकीसमाचार

पोखरामा प्रविधि मैत्री स्मार्ट यातायात व्यवस्थापनका लागि सम्झौता

पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरूबीच पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट बनाउन सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ । परियोजना अन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ ।

यसअघि नै पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेका कोरियाली रेलमार्ग अनुसन्धान संस्थानका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।

यसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोक पृथ्वीचोकलाई थप विस्तार समेत गरिनेछ । तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ ।

विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।

पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तीन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा, बस चढ्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरू सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ ।

यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को.लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button