पोखरा, १२ जेठ । प्रदेशस्तरीय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागी १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण पदकसँगै नगद रु ३५ हजार हात पारे ।
पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको संगमबाट सुरु भएको प्रतियोगितामा गोर्खाका सुरेन्द्र चेपाङले दोस्रो हुँदै रजत पदक प्राप्त गरे । उनले नगद रु २५ हजार हात पार्दा गोरखाका रबिन चेपाङले तेश्रो हुँदै कास्य पदक प्राप्त गर्दै नगद रु १५ हजार समेत पाए ।
प्रतियोगितामा गोरखाका समिन चेपाङ चौथो हुँदै पदकका साथमा नगद १० हजार र खोटाङका प्रशान्त राई सान्त्वना हुँदै नगद रु ५ हजार प्राप्त गर्न सफल भए ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य द्वय दिल बहादुर गुरुङ र तारामाया थापा मगर, परिषद्का सदस्य गिरमान गुरुङ, परिषद्का कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख नीलकण्ठ ढकालले विजेता खेलाडी तथा सहभागीहरूलाई मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिताका संयोजक तथा परिषद्का सदस्य वसन्तराज दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रम भएको थियो । प्रतियोगिता नेपाल ¥याफटिङ तथा क्यानोइङ संघको समन्वयमा भएको हो ।