कास्कीगण्डकीसमाचार

पत्रकारितामा एआइको प्रयोग विषयक कार्यशाला पोखरामा सम्पन्न

पोखरा, १२ जेठ । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरूको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिसर्च काउन्सिल फर स्टुडेन्ट (डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ? के फेक भ्वाइस रेकर्ड गर्न सकिन्छ ? फेक भ्वाइस र फ्याक्ट भ्वाइस कसरी छुट्टाउने ? एआई ले कसरी समाचार पढ्छ ? खोज पत्रकारितामा एआई का टुल्स कसरी प्रयोग गर्ने ? र डाटा सुरक्षा कसरी गर्ने ? भन्ने विषयमा डिआरसीएफएसका सह–संस्थापक एवं अध्यक्ष विशाल खराल, मेसिन लर्निङ कन्सल्टेन्ट अशिम दाहाल र इन्जिनियर विशाल पाण्डेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय प्रयोगमा आएको एआईका विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला राखिएको जानकारी गराइन् । छोटो समयको कार्यशाला भएता पनि पत्रकारका लागि लाभ मिल्नेमा उनी विश्वस्त छिन् । ‘हाम्रा लागि यो नयाँ विषय होला । जसका विषयमा जानकारी लिनुपर्ने आजको आवश्यकता हो । सोही बमोजिम एआईका विषयमा जानकारहरू सँगको सहकार्यमा पत्रकार महासंघ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।’, उनले भनिन् ।

भण्डारीले अहिलेको युग डाटाको युग भएकाले डाटा सुरक्षामा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई औँल्याएकी छिन् । महासंघले यस्ता कार्यक्रमलाई समय समयमा गर्दै जाने भनाई उनको छ ।

एआईका विषयमा बुझिएन भने पछि परिने मर्कन्टाइलका निरञ्जन उदासले बताए । बाहिरी मुलुकमा एआईको प्रयोग बढ्दै गएको र यसबाट लाभ समेत लिन थालिएको उनले जानकारी गराए । नेपालमा यसको सुरुवात भर्खरै भएता पनि कालान्तरमा यसको प्रयोग अझ बढ्दै जाने भनाई उनको छ । सरकार समेत एआईका विषयमा जानकार हुनुपर्ने आवश्यकतालाई उनले औँल्याएका छन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पूर्व अध्यक्ष बद्री विनोद प्रतीक, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बराल लगायतको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button