गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय ध्वजावाहज नेपाल एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान सम्पन्न गरेको छ ।
मङ्गलबार मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान बिहान पौने ९ बजे गौतमबुद्ध विमानस्थलमा अवतरित भएको हो । १ सय ५८ सिट क्षमताको उक्त विमानले ३१ जना यात्रु लिएर आएको थियो । विमान र यात्रुलाई पर्यटनमन्त्री सुदन किराँतीले स्वागत गरेका थिए ।
अब नेपाल एयरलाइन्सले मलेसिया-भैरहवा-काठमाडौं नियमित उडान गर्नेछ । मलेसियाबाट भैरहवामा अवतरण गरी यात्रु झारेर विमान काठमाडौं लाग्नेछ । प्रवर्द्धनात्मक फेयर स्वरुप मात्र ११ हजार रुपैयाँ तिरेर आजको उडानमा मलेसियाबाट भैरहवासम्म यात्रु आएका थिए । नियमित भाडादर भने मलेसिया-भैरहवा ३१ हजार र मलेसिया-काठमाडौं ५६ हजार रुपैयाँ एकतर्फी रहेको छ ।
मलेसियाबाट भैरहवाको उडान समय करिब ४ घण्टा ४५ मिनेट रहनेछ भने भैरहवाबाट काठमाडौं पुग्न थप २५ मिनेट लाग्नेछ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहेको मलेसियाबाट आउने नेपालीको संख्या उल्लेख्य रहने गरेको छ ।