पोखरा महानगरले पामे वरपर रहेका सबै दलदले जमिन सिमसार भएको स्पष्टोक्ति दिँदै त्यस क्षेत्रमा कुनै पनि हिसाबले व्यवसायिक रूपमा घडेरी विकसित गर्न र बिक्री गर्न नपाइने बताएको छ ।
भूउपयोग ऐन २०७६ को नियम ८ सँग सम्बन्धित अनुसूची १ को नियम (छ) बमोजिम अब महानगरले पामे क्षेत्रसँग सम्बन्धित दलदले जमिनको वर्गीकरण गर्ने भएको छ । नियम (छ) को उपनियम ५,६,७ अनुसार उक्त क्षेत्रलाई सिमसार घोषणा गर्ने पर्याप्तता आधारहरू रहेको महानगरले जनाएको छ ।
उपनियममा प्राकृतिक ताल, पोखरी, साबिकको नदी वा खोला बगेको र हाल नदी, खोला उकास भई बगर वा ढुङ्ग्यान कायम भएको क्षेत्र, बग्ने पानी नभए पनि पानी जमेको वा जम्ने सम्भावना भएको सिमसार वा रामसार क्षेत्र अन्तर्गत पर्नेछन् । यस्तै ऐनको दफा १२ मा आवासीय प्रयोजनका लागि वर्गीकरण गरिएको बाहेक अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले कुनै पनि हिसाबले व्यवसायी रूपमा घडेरी विकसित गर्न र बिक्री गर्न पाइने छैन भनी उल्लेख गरिएको छ ।
यसै नियममा टेक्दै महानगरले पामे क्षेत्रमा नियम विपरीत निर्माण गरिएका २७० बढी घडेरीका लागि तयार गरिएका डिपिसि भत्काइदिएको उल्लेख गरेको छ । सिमसार क्षेत्रमा वर्गीकरण गर्न सके मात्रै पनि फेवाताल अतिक्रमण धेरै हदसम्म रोक्न सकिने सरोकारवालाहरुले बताउँदै आएका छन् ।