समाचारसूचना / प्रविधि

पोखरामा फाइभजी विस्तार गर्दै नेपाल टेलिकम

पोखरामा नेपाल टेलिकमले पछिल्लो फाइभजी प्रविधि विस्तार गर्ने तयारी गरेको छ ।

नेपाल टेलिकमले प्रदान गरेका सेवा तथा सुविधा नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकम प्रादेशिक कार्यालय पोखराका निर्देशक इन्दल यादवले पोखरामा टेलिकमले फाइभजी सेवाको परीक्षण गरिरहेको जानकारी दिएका हुन् । उनले काठमाडौंपछि फाइभजी सेवा विस्तारको लागि पोखरालाई प्राथमिकतामा राखिएको र अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षण भइरहेको पनि बताए ।

निर्देशक यादवले गण्डकीका २५ लाख १ हजार ८४२ जनाले टेलिकमको सेवा लिएको जानकारी दिए । गण्डकीमा पोष्टपेड मोवाइल चलाउने ७० हजार र प्रिपेड मोवाइल चलाउने २३ लाख ९२ हजार ५०४ जना रहेको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताए । ‘सरकारी सेवा गुणस्तरी हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरुको दायित्व हो,’उनले भने,‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नुहुँदैन, अन्य कम्पनीसँगको प्रतिस्पर्धामा खरो उत्रनुपर्छ ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय पोखराका व्यापार प्रमुख महेन्द्र रिमालले नेपाल टेलिकमको सहरदेखि गाउँसम्म पुगेको जिकिर मात्रै गरेनन्,सस्तो र भरपर्दो भएको पनि बताए । पछिल्लो समय नेपाल टेलिकमले प्रदान गरेको फाइबर टु होम – एफआइटीएच) बाट इन्टरनेट, टेलिभिजन र फोन सुविधा,अन्तर्राष्ट्रिय रोमिङ,कर्पोरेट युजर ग्रुप (सीयूजी)नमस्ते वाइफाइ,डेडिकेटेट लिज सर्भिस,नोटिस बोर्ड,टोल फ्रि नम्बरजस्ता सेवाबारे उनले विस्तृतमा व्याख्या पनि गरे । टेलिकमले प्रदान गर्ने प्याकेजहरुले गुणस्तरमा सम्झौता नगर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले नेपाल टेलिकमलाई सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको जिम्मेवारी नभुल्न आग्रह गरे । नेपाल टेलिकमकी सहायक व्यापार अधिकृत कविता श्रेष्ठले संचालन रहेको कार्यक्रममा पोखरा कार्यालय प्रमुख बसन्त माझीलगायतले पनि टेलिकमको विभिन्न सेवाबारे जानकारी गराएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button