पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानका रुपमा सिचुआन एयरको विमान अवतरण गरेको छ ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेको विमान आज बिहान ९:०५ मा पोखरा विमानस्थलमा अवतरण गरेको हो । एयरबस कम्पनीको ए३१९ मोडलको उक्त विमानमा १ सय ३० यात्रु रहेको जनाइएको छ । पोखरा विमानस्थलमा यस अघिनै हिमालय एयरलाइन्सको त्यो भन्दा ठूलो एयरबस ए ३२० मोडलको विमानले सफल परीक्षण उडान गरिसकेको थियो ।
पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेसमा सहभागी हुने खेलाडीहरु तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत यात्रु लिएर चीनको छेन्दुबाट उक्त विमान उडेको थियो ।