कास्कीगण्डकीसमाचार

पोखराको फेवातालमा आज ड्रागन बोट रेस फेस्टिबल

पोखराको फेवातालमा शुक्रबारदेखि नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिबल हुँदैछ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।

असार ८ र ९ गते हुने प्रतियोगितामा ४ चिनियाँ टिम र ४ नेपाली टिम गरी ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना-नेपाल फ्रेण्डसीप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्नेछन् ।

५ सय र दुई सय मिटरको दुरीमा डुंगा दौड हुनेछ । ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हासिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म यो दौड प्रतियोगिता सञ्चालन हुनेछ ।

दुई दिने फेस्टिभलमा बोटरेसबाहेक नेपाली, चिनियाँ खानालगायत चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहनेछ । नेपाल-चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि ६० जना खेलाडी सहितको झण्डै २ सयजनाको चिनियाँ टोली प्लेन चार्टड गरेर पोखरा आइसकेका छन् । फेस्टिभलका लागि २ करोड ५० लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखरा फेस्टिबलको सहयोगी संस्थाका रुपमा रहेका छन् । यो महोत्सव पोखरेलीका लागि ऐतिहासिक महोत्सव भएकाले यसको अवलोकनका लागि आयोजकले सम्पूर्ण पोखरेलीलाई आव्हान गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button