पोखरा महानगरपालिकाले महानगरक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रबर्द्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।
उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाई पालक कृषक धनश्याम तिमिल्सीना, पोखरा १७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा २० का बाख्रा पालक कृषक दुर्गा बहादुर गुरुङ र पोखरा १९ की बङ्गुर पालक कृषक सरस्वती बस्ताकोटी रहेका छन् । पोखरा महानगरपालिकाको तर्फबाट उत्कृष्ट कृषकहरूलाई कर सहित नगद रु.१० हजार र ज्येष्ठ प्रवद्र्धक कृषकहरूलाई कर सहित रु.३ हजार साथमा सम्मानपत्र प्रदान गरिएको हो ।
यस्तै पाडीबाच्छी आफै हुर्काएर माउ बनाउने ५०० जना कृषकलाई रु.३ हजार र एक हजार पाडीबाच्छी हुर्काउनका लागि रु.४ हजारका दरले अनुदान उपलब्ध गराइएको छ । महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूलाई रु.८हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदान समेत प्रदान गरिएको छ ।
यसैबिच पोखरा महानगरपालिकाले नेपाल मै पहिलो पटक प्रचलित कानुन अनुसार मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गरिरहेका मासु व्यवसायीहरूलाई वैधानिकताको परीक्षण पश्चात एकै प्रकारको बोर्ड समेत उपलब्ध गराएको छ । महानगरपालिकाको तर्फबाट व्यवसायीहरूको पहिचानका लागि प्रदान गरिएको एकै प्रकारको बोर्डले उनीहरूको वैधानिकता पुष्टि गर्नेछ । ७० बढी व्यवसायीहरूलाई बोर्ड सहित मासु काट्ने चक्कु, एप्रोन र टिसर्ट, बुट, पन्जा र मास्क, सरफ, फिनेल र लिजा ५–५ लिटर साथमा परिचय पत्र पनि वितरण गरिएको छ ।