गण्डकीप्रदेशसमाचार

श्रीकृष्ण जन्माष्टमी पर्वमा गण्डकी प्रदेश प्रमुख भट्टबाट शुभकामना व्यक्त

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले श्रीकृष्ण जन्माष्टमी पर्व तथा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने जनाउँदै यस पर्वले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएका छन ।

यस्तै, सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन ।

‘गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्ण पक्ष, पञ्चमीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिन्छ । पार्वतीले कठोर तपस्यापछि भगवान शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भनेका छन् – ‘सदियौँदेखि मनार्इँदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ ।’

यस प्रकारका लोक परम्परा तथा धार्मिक, सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको उनको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button