पोखरा । आज भाद्र कुशे औंसी पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ ।
आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ ।
बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् ।
‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशिर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
यस अवसरमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्दछ ।