गण्डकीदेश/समाजसमाचार

पोखराको ढुंगेसाँघुमा कोटी होम लगाइने

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ ढुंगेसाँघुमा कोटीहोम लगाइने भएको छ । आगामी मंसिरमा हुने कोटीहोममा शिव मन्दिर शुभारम्भसँगै मूर्ति प्राणप्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी द्वीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने महायज्ञ मूल आयोजक समिति संयोजक मदन गिरीले जानकारी दिए । संयोजक गिरीका अनुसार तीन दशकपछि पोखरामा कोटी होम हुन लागेको हो ।

युवा पुस्तामा कोटी होम भनेको के हो, कसरी गरिन्छ र यसको महत्व के छ भन्ने बारेमा समेत जानकारी गराउने गरी कार्यक्रम आयोजना गरिएको गिरीले बताए ।

पछिल्लो समय युवामा धार्मिक तथा सांस्कृतिक ज्ञानको कमि हुँदै गएको उनको बुझाइ छ । यो कोटी होममा पोखरा–१५ स्थित गण्डकी रिभर साइड युवा क्लब जुटेको उनले बताए ।

गिरीका अनुसार कोटी होम शास्त्रअनुसार नै हुनेछ भने दान गर्न सक्ने या नसक्ने पनि सहभागी हुन पाउनेछन् ।

उनले भने, ‘हामीले कोटी होमका लागि रकम दिनपर्छ भनेर भन्दैनौँ न त दबाब नै दिन्छाैँ, यदि दिन सक्ने हुनुहुन्छ भने दिन सक्नुहुन्छ, सक्नु हुन्न भने पनि आएर पुण्य कार्यमा सहभागी हुन सक्नुहुन्छ ।’

ढुंगेसाँघु लुकेको तीर्थस्थल हो । यहाँ धार्मिक महत्व बोकेका ठाउँ छन् । विभिन्न पूजाअराधाना पनि हुँदै आएको छ ।

कोटी होमकै क्रममा निःशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्ध–वृद्धाका लागि पूजासमेत लगाउने व्यवस्था गरिनेछ ।

पुरानो धार्मिक इतिहासलाई जिवन्त राख्न कोटी होमको आयोजना गरिएको गण्डकी रिभर साइड युवा क्लब अध्यक्ष नारायण भण्डारीले बताए ।

सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटी होम हुनेछ ।

ढुंगेसाँघु धार्मिक क्षेत्र भए पनि प्रचारप्रसारको अभावले निकै पछि पर्दै गइरहेकाले कोटी होममार्फत प्रचार गर्ने प्रयास गरिएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button