गण्डकीदेश/समाजसमाचार

घान्द्रुक पदमार्गको हब बन्न सक्छ : डा. कडरिया

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रवीन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो साधारणसभामा डा. कडरियाले घान्द्रुकबाट पदमार्गको गन्तव्य सुरु हुने भएकाले हब बन्ने सक्ने दावी गरे ।

घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको गन्तव्य बन्दै गइरहेको भन्दै उनले घान्द्रुकलाई सांस्कृतिक गाउँको रुपमा विकास गर्न सके अझै यसको महत्व बढ्ने स्पष्ट पारे ।

कडरियाले भने, ‘घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे, हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा पर्यटकको रोजाईमा पर्छन्, जसको कारण घान्द्रुक पदमार्गको हव बन्न सक्छ ।’

उनले घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्ब्याउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै वन्यजन्तु संरक्षणमा विशेष ध्यान दिनसमेत सुझाव दिए ।

‘घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्ब्याउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै घान्द्रुकलाई सांस्कृतिक रुपमा विकास गर्न सके अझै पर्यटकको आगमन बढ्न सक्छ’, उनले भने, ‘वन्यजन्तुलाई हामीले हानी नोक्सानी गर्ने रुपमा मात्र हेरेका छाैँ तर यसको संरक्षण प्रवर्द्धन गर्न सके चितवनमा हात्ती र चितुवा हेर्न जाने पर्यटकजस्तै यहाँ पाइने जंगली जनावर देखाउन पर्यटक ल्याउन सकिन्छ ।’

उनले पछिल्लो समय वन डढेलोका कारण पर्यटन क्षेत्रसँगै जलवायुमा प्रत्यक्ष असर परेकाले वन डढेलो नियन्त्रणमा समुदाय नै चनाखो हुन समेत आग्रह गरे ।

उनले घान्द्रुकलगायत अन्नपूर्ण क्षेत्रमा पाइने अल्लो र स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्न आवश्यक रहेको स्पष्ट पारे । कडरियाले घान्द्रुकको लोकल रक्सी, सुकुटी र स्थानीय उत्पादनलाई समेत ब्राण्डिङ गर्न सके आर्थिकरुपमा समेत सबल हुने दावी गरे ।

अन्नपूर्ण गाउँपालिका वडा नं. १० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको विकासको लागि स्थानीय सरकार, एक्याप र स्थानीयको समन्वयमा काम गर्दै आएको बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप इलाका कार्यालय घान्द्रुकका पूर्व प्रमुख जगन सुब्बा गुरुङले घान्द्रुकको विकास र यहाँको संरक्षणको लागि संरक्षण क्षेत्र स्थापना भए सँगै स्थानीयसँग समन्वय गर्दै आएको उल्लेख गरिन् ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका सचिव माया पुन थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका पूर्व कार्यालय प्रमुख जनगसुब्बा गुरुङ, घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा सबैभन्दा बढी विदेशी पर्यटकको शुल्क बुझाउने होटल ब्रिजका सञ्चालक सुवास गुरुङ र नेपाली गाइड (पोटर)को शुल्क बुझाउने होटल वल्ड भिलेज इनका सञ्चालक अमृत गुरुङलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा तमु प्येल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ, लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले घान्द्रुकको विकाससँगै पर्यटन प्रवर्द्धनमा एकताबद्ध तरिकाले अगाडि बढ्न सुझाव दिए ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रामकुमारी परियारले स्वागत र सचिव माया पुन थापाले सञ्चालन गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button