गण्डकीदेश/समाजसमाचार

ली-बर्डकाे ३०औँ साधारणसभा तथा सामाजिक लेखा परीक्षण

पोखरा । ली-बर्डको ३०औँ वार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ । कार्यक्रममा ली-बर्डको रणनीति २०२४/२०३० समेत विमोचन गरिएको छ ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार डा. बलराम थापाले ली-बर्डको रणनीतिको संक्षिप्तमा दृष्टि, ध्येय र परिकल्पनाबारे प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामाजिक लेखा परीक्षक डा. रामचन्द्र बरालले सामाजिक परीक्षणको प्रस्तुति राखेका थिए ।

संस्थागत सामाजिक परीक्षणको दौरानमा संस्थाले बाली सुधार, किसानलाई दिगो खेती प्रणालीमा सहभागी गराउन, सामुदायिक बीउ बैंकको स्थापना र बीउ उद्यमशीलता प्रवर्द्धन गर्न, पर्यावरणीय कृषि र जलवायु उत्थानशील प्रविधिबाट रैथाने बाली संरक्षणमा उल्लेखनीय योगदान गरेको बताइएको छ ।

साथै, जलवायु उत्थानशील प्रविधि, परागसेचन, जंगली खानयोग्य वनस्पति, ग्रामीण जीविकोपार्जन सुधार र प्रमाणमा आधारित नीतिगत पैरवीमा योगदान गरेको बताइएको छ ।

ली-बर्डबाट सञ्चालित कार्यक्रमबाट सीमान्तकृृत समुदायको जीविकोपार्जनको अभिवृद्धि, उत्थानशील क्षमताको विकास, बीउमा परनिर्भरता घटाउने कार्यमा योगदान, रैथाने बालीको प्रवर्द्धन, जैविक विविधताको संरक्षणमा, कर्णाली प्रदेशमा परागसेचन रणनीति विकासमा योगदान, गण्डकीमा कृषि जैविक विविधता तथा प्राङ्गारिक खेती रणनीति नीति विकासमा योगदान गरेको बताइएको छ ।

संस्थालाई जैविक विषादी निगरानीको दायरामा वृद्धि गर्न, किसानसँगको अन्तरक्रियाको लागि फिल्ड कर्मचारीको क्यालेन्डर बनाउन, कर्मचारीको सामाजिक परिचालनको क्षमता अभिवृद्धि तथा स्थानिय कृषि उत्पादनको मूल्य श्रृंखलामा लगानी गर्न सुझाव प्रदान गरिएको छ ।

पछिल्लो ३० वर्षमा आर्जित ज्ञानको विस्तार, नमूना गाउँमा पत्रु खाना बेच्न रोक्न र एक विश्व एक स्वास्थ्य कार्यान्वयन गर्नुपर्ने भन्दै संस्थाका लागि सुझाव दिइएको छ ।

लुम्ले कृषि केन्द्रका प्रमुख डा. प्रनिल केसीले परम्परागत खेती प्रणाली निर्वाहमुखी भएकाले किसानको चाहना बमोजिम अगाडि ल्याउन जोड दिए ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले गैरसरकारी संस्थाको रुपमा कास्कीबाट उदाएर राष्ट्रिय स्तरमा नै अब्बल संस्थाको रुपमा विशेष गरी प्राकृतिक स्रोत व्यवस्थापनको क्षेत्रमा अग्रणी भूमिकामा देखिएको बताए । उनले सरकारी निकायले समेत गैसस क्षेत्रको समाजको रुपान्तरणको योगदानलाई कदर गर्न सुझाव दिए ।

कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बवासु रेग्मीले सामुदायिक बिउ बैँकदेखि लिएर जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राखेर प्रदेश लोकसेवा आयोगमा समेटिएको समेत जानकारी दिए ।

प्राकृतिक श्रोत व्यवस्थापन कलेज प्रमुख प्रोफेसर डा. दुर्गा देवकोटाले कृषि तथा विश्व विद्यालयसँगको साझेदारीको लागि ली–बर्डलाई धन्यवाद दिए ।

उनले संस्थाले युवा तथा मानव संशाधनको शीप तथा क्षमता अभिवृद्धि एवं व्यवसायिक विकासमा गरेको योगदानको प्रशंसा गरे ।

उनले भूमिहीन किसानको सन्दर्भमा विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्न महत्त्वपूर्ण रहेको बताए ।

अन्नपर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले ली-बर्डलाई दिगो विकासमा थप योगदानका लागि सहकार्यका लागि आह्वान गरे ।

प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका डा. टंकप्रसाद प्रसाईले संस्थाले कृषिको क्षेत्रमा गण्डकीको मात्र नभई नेपालको गौरवको रुपमा ली-बर्ड रहेको बताए ।

उनले ली-बर्डको राम्रो कामको प्रशंसा गर्दै सबै तीन तहको सरकारसँग मिलेर काम गर्नुपर्ने सुझाव दिए ।

ली-बर्डमा २८ वर्षदेखि कार्यरत इन्द्रप्रसाद पौडेल, १५ वर्ष भन्दा बढी सेवा गरेका मीरा ढकाल, राजकुमार चौधरी, वीरेन्द्र चौधरी, इन्देश्वर मण्डल र चन्द्रबहादुर साउदलाई वार्षिकोत्सवका अवसरमा दीर्घ सेवा पदक तथा सम्मान प्रदान गरिएको थियो ।

बोर्डका अध्यक्ष डा. प्रताप कुमार श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button