देश/समाजमुख्य खबरसमाचार

पोखरामा वर्षा जारी, कास्कीसहित २७ जिल्ला उच्च जोखिममा

पोखरा । पोखरामा मंगलबार दिउँसोदेखि वर्षा जारी छ । यो समाचार तयार पार्दा मंगलबार राति करिब १०ः३० बजेसम्म वर्षा जारी छ । पोखरामा मध्यम वर्षा भइरहेको छ ।

साथै मंगलबारदेखि सक्रिय भएको मनसुनले शनिबारसम्म सबै प्रदेशका केही स्थानमा वर्षा गराउने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावको कारण मंगलबारदेखि मनसुनी प्रणाली सक्रिय भएकाले सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको हो ।

महाशाखाले मंगलबार राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

बुधबार सुदूरपश्चिमका एक-दुई स्थानमा तथा बिहीबार गण्डकी, लुम्बिनी, सुदूरपश्चिमका थोरै तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

यो अवधिमा महाशाखाले पाँच प्रदेशका २७ जिल्ला उच्च जोखिममा रहेको औंल्याएको छ ।

कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकीका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रूकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके उच्च जोखिममा छन् ।

यस्तै कर्णालीका सुर्खेत, सल्यान, रूकुम पश्चिम, जाजरकोट र दैलेख तथा सुदूरश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी उच्च जोखिममा रहेकोे बुलेटिनमा उल्लेख छ ।

कोशी प्रदेशका १२, मधेसका चार, बागमतीका १३, गण्डकीका तीन, लुम्बिनीका तीन, कर्णाली दुई र सुदूरपश्चिमका पाँच जिल्ला मध्यम जोखिममा छन् । बाँकी ८ जिल्ला भने न्यून जोखिममा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button