
पोखरा । सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार बिजेताहरुलाई सोमबार उपहार हस्तान्तरण गरिएको छ ।
पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको सो समितिले नेपालीको महान चाँडहरु बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा तीन महिना लामो अवधी राखेर समितिले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजना गत माघ १९ गते शनिबार आयोजित साधारण सभाको अवसरमा खोलिएको थियो ।
समितिमा आवद्ध व्यवसायीहरुको होलसेल पसलबाट सामान खरिदमा निःशुल्क उपहार कुपन वितरण गरिएको थियो । जसमा ६० हजार भन्दा बढीले उपहार कुपन लिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए ।
सो लक्की ड्रबाट बिजेता बनेकी पोखरा–१६ लामाचौरकी रिना बस्नेतलाई सोमबार स्कुटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली, समितिका अध्यक्ष तुलबहादुर थापा (राजन), सल्लाहकार तथा पूर्व अध्यक्ष धर्ममानसिंह भण्डारी, सल्लाहकारहरु प्रेम सुवेदी, नरहरी अधिकारीलगायतले उपहार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लक्की ड्रबाट द्वितीय उपहार बिजेता बनेकी तनहुँ म्याग्दे गाउँपालिकाकी मेनुका पौडेललाईपनि ल्यापटप उपहार हस्तान्तरण गरियो ।
त्यस्तै, तृतीय उपहार बिजेता पोखराका समीर कोइरालालाई मोवाइल हस्तान्तरण गरियो ।
चौथो पुरस्कार बिजेता पोखरा–४ गैह्रापाटनका सौगात पाण्डेले साईकल उपहार जितेपनि उनलाई मायाको चिनो मात्रै प्रदान गरियो । स्थानिय व्यवसायी वा उनीहरुको परिवारलाई उपहार परेमा उपहार बदर गर्ने नीति यसअघि नै बनेकाले सोहि नीति अनुसार पाण्डेलाई साइकल उपहारको सट्टा मायाको चिनो स्वरुप अध्यक्ष तुलबहादुर थापा र महासचिव विशाल अधिकारीको तर्फबाट मायाको चिनो प्रदान गरिएको हो ।
सो लक्की ड्रमा सान्त्वना उपहार बिजेता बनेका पोखरा सेदीकी सृजना कँडेल, स्याङ्जा पुतलीबजार–११ की पूजा पौडेल र गीता पुनलाई ५÷५ हजार हस्तान्तरण गरियो । अर्की सान्त्वना उपहार बिजेता ज्योतिसा राना मगर भने उपहार ग्रहण कार्यक्रममा सहभागी नभएकाले पछि दिईने महासचिव विशाल अधिकारीले जानकारी दिए ।
उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यापार प्रवद्र्धनका लागि सर्वेश्वर व्यवसायी समितिले गरेको काम सराहनीय भएको बताए । उनले व्यापार प्रवद्र्धनका लागि वडा कार्यालयलेपनि सघाउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा समितिसँग सहकार्य गरेर जान आफू तयार रहेको उल्लेख गरे । साथै उनले व्यापार प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ आवश्यक रहेको भन्दै त्यसका लागिपनि महानगरले तालिम गरिरहेकाले सकृय रुपमा सहभागिता जनाउन आग्रह गरे ।
सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यापार प्रवद्र्धनका लागि निःशुल्क उपहार योजना सञ्चालन गरिएको बताए । उनले आगामी दिनमापनि व्यापार प्रवद्र्धनका अन्य कार्यक्रमहरुपनि निरन्तर गर्ने बताए ।
सल्लाहकार प्रेमप्रसाद सुवेदीले निःशुल्क भाग्यशाली उपहार योजनाले व्यापार प्रवद्र्धनमा सघाएको बताए । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छविलाल गौतमले स्वागत मन्तव्य राखेका थिए ।