
पोखरा।कास्की जिल्ला जुडो संघको आयोजनामा भएको ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ भव्य रुपमा सम्पन्न भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ शुक्रबार र शनिबार पोखरा रंगशालाको कभड हलमा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद नन्द प्रसाद न्यौपानेको आतित्यथामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले कुनैपनि व्यक्तिलाई खेलकुदले मर्यादाता, अनुशासन र समुहमा मिलेर काम गर्ने सक्ने बानिको विकास गर्ने बताए । उनले खेलाडीहरु भनेको राष्ट्रको गहना भएको र विभिन्न खेलका माध्यमबाट खेलाडीहरुले राष्ट्रको प्रतिनिधित्व गरि विश्वसामु नेपाललाई चिनाउन यस क्षेत्रले प्रमुख भूमिका खेलेको बताए ।
प्रमुख अतिथि न्यौपानेले जुडो वास्तवमा निकै अनुशासित र उत्कृष्ट खेल भएको तर यस खेलको विकासका लागि यस खेलसँग सम्बन्धीत निकाय र सरकारको त्यति ध्यान जान नसकेकोले सबैको ध्यान केन्द्रित गर्नको लागि आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा कास्की, गार्खा, नवलपुर, मोरङ, बिराटनगर र सुनसरी गरि ६ वटा टिमबाट पुरुषतर्फ १० र महिलातर्फ ८ गरि १८ वटा तौल समुहमा प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ –२५, –३०, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ केजी गरी १० तौल समुहमा प्रतिस्पर्धा भएको थियो । यस्तै महिलातर्फ –२८, –३२, –३८, –४४, –४८, ५२ र +५७ केजी गरी ७ तौल समुहमा प्रतिस्पर्धा भएको थियो ।
उक्त प्रतियोगितामा पुरुषतर्फ –२५ केजी तौल समुह अन्तर्गत मोरङका निखिल शाहीले स्वर्ण पदक, विराटनगरका निर्भिक प्रताप रानाले रजत पदक र कास्कीका महिष विक र नवलपुरका सोनम विकले कास्य पदक जितेका थिए ।
–३० केजी तौल समुहतर्फ कास्कीका निशान नेपाली र मञ्जित परियारले स्वर्ण र रजत र गार्खाका सुनिल लिम्बूले कास्य पदक प्राप्त गर्न सफल भए । –३५ केजी तौल समुहमा मोरङका विज्ञान अधिकारी स्वर्ण, गार्खाका अमोद कुमार रजत र कास्कीका शिरीष पुनले कास्य पदक हात पारे ।
पुरुषतर्फको नै –४० केजी तौलमा विराटनगरका सुजन राजवंशी स्वर्ण र मोरङका सोनम कुमार देओले रजत पदक जिते । –४५ केजीमा संजोक परियार कास्कीबाट स्वर्ण, प्रसात राई सुनसरीबाट रजत र गार्खाका शिव मरासोरनीले कास्य पदक प्राप्त गरे । कास्कीका आदित्य गुप्ता, विराटनगरबाट सरोज राजवंशी, कास्कीका तितस खड्का र स्यामुयल लिम्बूले –५० केजीमा क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।
–५५ केजी तौलमा कास्कीका आयुष महतो, नवलपुरका देभिस गुरुङ, मोरङका हिमान्सु कुमार पाल र विराटनगरका लक्की राजवंशीले क्रमश स्वर्ण, रजत र कास्य पदक हासिल गरे । यस्तै पुरुष तौल समूह अन्तर्गत नै –६० केजीमा गार्खाका दिपेश गुरुङ, कास्कीका मनिष परियार र बिराटनगरका अनुज रावंशीले स्वर्ण, रजत र कास्य पदक प्राप्त गरेका छन् ।
–६६ केजीमा आशिष तामाङले कास्कीका लागि स्वर्ण, गोर्खाका मनोज तामाङले रजत, बिराटनगरका आरुस पाखरेल र नवलपुरका सन्दिप परियारले कास्य पदक पाउन सफल भए । पुरुषतर्फ नै अन्तिम तौलसमुह अर्न्तगत +७३ केजीमा कास्कीका विज्ञान टि खत्री, विराटनगरका रोशन राजवंशी र सुनसरीका अक्लिस शाही ठकुरीले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।
त्यस्तै महिला तौल समुह अर्न्तगत ७ वटा विधामा भएको प्रतियोगितामा –२८ केजीमा कास्कीकी निशा नेपाली, मोरङकी रिया शाह र गोर्खाकी कृति वि.क.ले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । –३२ केजीमा मोरङकी संस्कृति अर्घहरीले स्वर्ण, कास्कीकी बिषु मगरले रजत, कास्कीकै जमुना श्रेष्ठले र गोर्खाकी सुरक्षा परियारले कास्य पदक हासिल गरे ।
यस्तै –३८ केजीमा कास्कीकै आश्मा गुरुङ र गंगा श्रेष्ठले स्वर्ण र रजत पदक प्राप्त गरे । महिलातर्फको नै अर्को तौलसमुह अर्न्तगत –४४ केजीमा कास्कीकी मनमाया तामाङ, गोर्खाकी प्रतिका नेपाली, सुनसरीकी प्रासन्ना राई र नवलपुरकी मेघ्मा गुरुङले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते ।
कास्कीका दुई खेलाडी कमला तामाङ र अनिता परियारले क्रमश –४८ केजीमा स्वर्ण र रजत प्राप्त गरे । –५२ केजीको विधामा बिराटनगरकी यशिका खड्का र सुनसरीकी सुप्रिया राईले स्वर्ण र रजत हासिल गर्न सफल भए ।
यसै प्रतियोगिता अर्न्तगत –५७ केजी तौल समुहमा कास्कीकी मिक्सा लिम्बु, गोर्खाकी मनिषा तामाङ, सुनसरीकी दिपसिका आचाजु र समिक्षा धमेलले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । यस्तै ११ वटा स्वर्ण, ४ रजत र ३ कास्य गरी १८ वटा पदकसहित कास्की जिल्ला टिम च्याम्पियन बनेको छ । मोरङले ३ स्वर्ण, २ रजत र १ कास्य गरी ६ वटा पदकसहित दोस्रो हुन सफल भएको छ । त्यसैगरी २ स्वर्ण, ४ रजत र २ कास्य गरी विराटनगर तेस्रो भएको छ ।
यस्तै पुरुषतर्फको प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी कास्कीका आयुष महतोले जितेका छन् भने महिलातर्फ मोरङकी संस्कृति अर्घहरीले उपाधी चुमेकी छन् । सो कार्यक्रममा विगत १६ वर्षदेखि निरन्तर रुपमा जुडो खेलको विकासका निम्ति लागि परेका स्वयम सेवक प्रशिक्षक रबि चौधरीलाई आयोजक संस्था कास्की जिल्ला जुडो संघले सम्मान समेत गरेका छ ।
कार्यक्रममा संघका उपाध्यक्ष सन्त बहादुर लामिछानेले आर्थिक अभावका वावजुत पनि यस जुडो खेल र खेलाडीको समग्र विकासका निम्ति प्रतियोगिता आयोजना गरेको बताए । उनले केही समय हुन नसकेको खेलकुदको गतिविधिलाई चलायमान बनाउन पनि आफुहरुको नयाँ आएको टिमले छोटो समयमा नै विभिन्न कठिनाइहरुको सामना गर्दै प्रतियोगिताको आयोजना गरेको बताए ।
खेलकुद क्षेत्रसँग सम्बन्धीत निकायहरुबाट सोचे अनुरुपकोसहयोग प्राप्त नभएपनि संघभित्र कै पदाधिकारीहरुबाट र केही सहयोगी दाताहरुको हातेमालोमा प्रतियोगितालाई सफलतापूर्व सञ्चालन गरेको जनाए ।
संघका अध्यक्ष पद्य बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जुडो महासंघका महासचिव प्रकाश पाण्डे, गण्डकी प्रदेशका महासचिव निरज पन्त आइजेएफ रेफ्रि पृथ्वी आलोक लगायतले आफ्ना भनाइहरु राखेका थिए ।