
तिलु शर्मा पौडेल/ दोहा कतार । कतारमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद् कतारले प्रदेश सदरमुकाम पोखरामा चैत्र ०२ गते बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल भावका साथ प्रवासमा मात्र रक्तदानका कार्यक्रमलाई सीमित नराखी प्रदेशको मुख्यालय रहेको सुन्दर नगरी पोखरामा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखरा, कास्की आदर्श समाज नेपाल र विश्वकर्मा समाज (पर्वत,स्याङ्जा र कास्की) सँगको समन्वयमा पोखराको चिप्लेढुंगा मानवअधिकार चोकमा रक्तदानका लागि उपस्थित इ कार्यक्रमलाई सफल बनाउन परिषद् कतारका अध्यक्ष अजय विकले अनुरोध गरेका छन् ।
स्थापनाकाल देखी नै सामाजिक एवम् मानवीय क्रियाकलापहरूको क्रियाशीलतालाई निरन्तरता दिँदै आएको परिषद्ले पहिलो पटक पोखरामा रक्तदान गर्न लागेको बताउँदै अध्यक्ष विकले परिषद्का बिदामा घरमा रहेका र विभिन्न कालखण्डमा परिषदमा जोडिएका सबैको उपस्थिति रहने अपेक्षा गरेको बताए ।
परिषदमा कतारमा स्थापित म्याग्दी, पर्वत, बागलुङ, लमजुङ, गोरखा, कास्की, स्याङ्जा, तनहुँ र नवलपुरका जिल्ला सस्थाहरु आबद्ध रहेका छन् ।