गण्डकी खबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहहरुले छुट्टा छुट्टै समयमा केन्द्रीय कमिटिको बैठक आज मंगलबारका लागि बोलाएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितको नेता माधव नेपाल समूहले केन्द्रीय समितिको बैठक आव्हान गरेका छन् ।
समितिको बैठकबाट एक अर्कालाई कारवाहीको निर्णय गर्ने रणनीतिमा दुवै समूह पुगेका छन् । हिजो सोमबार दुवै समूहले आफू निकट विघटित प्रतिनिधि सभाका सांसद, कानुन व्यवसायी सहित नेताहरुसँग भेटघाट र छलफल गरेका थिए । सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रक्रिया थालेसँगै प्रतिनिधि सभामा विघटन गरिएको छ ।
यसैवीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताउनुभएको छ । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यसँगको परामर्श बैठकमा सो तर्क राख्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको विधानअनुसार पहिलो वरियताको अध्यक्षका हैसियतले आफ्नो सहमतिविनाको बैठक र निर्णयको कुनै अर्थ नहुने अध्यक्ष ओलीले बताउनुभएको जनाउनुभयो । सल्लाहकार थापाले अध्यक्ष ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने भन्ने निर्णय भनिएको विषयलाई औपचारिकता नमान्न सञ्चारमाध्यमलाई पनि आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले आज मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मङ्गलबार नै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गर्नुभएको छ ।