गण्डकीसमाचार

जुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदै

गण्डकी खबर ।  जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ ।

गत आर्थिक वर्षमा ढिलोगरी सञ्चालनमा ल्याएको सो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको थिएन । चालू आर्थिक वर्षमा सयममै बजेट उपलब्ध गराएर यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहबीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले रोजगार गुमाएका व्यक्तिलाई रोजगार दिने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताउनुभयो । उहाँले कार्यक्रम सञ्चालनका लागि यहाँका स्थानीय तहमा बजेट पठाउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ सो कार्यक्रमका लागि प्रत्येक वडामा रु ३३ लाखदेखि ६५ लाखसम्म बजेट पठाउने तयारी गरिएको छ । त्यसका लागि जिल्लास्थित सामाजिक विकास कार्यालयमा बजेट पठाइसकिएको छ ।” सो कार्यक्रमका लागि यो वर्ष प्रत्येक जिल्लामा रु १७ करोडदेखि ४४ करोडसम्म बजेट पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

“जनसङ्ख्या, भौगोलिक विकटता, गरिबीजस्ता कुरालाई प्राथमिकतामा राखिएको छ”, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्् कार्यालयका प्रवक्ता केशव उपाध्यायले भन्नुभयो, “चालू आर्थिक वर्षमा यो कार्यक्रमका लागि रु दुई अर्ब ९७ करोड ७१ लाख ५१ हजार विनियोजन गरिएको छ ।” सो रकम प्रदेशका ७९ वटै स्थानीय तहका ७१८ वडामा पठाइने प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल योजना छनोटको काम भइरहेको छ । पुस ६ गते मात्रै प्रत्येक स्थानीय तहलाई बेरोजगार व्यक्तिको विवरण पठाउन परिपत्र गरिएको छ ।” यही पुस १५ गतेभित्रै १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन आग्रह गरिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

गत वर्षको तुलनामा यो वर्षको बजेट वुद्धि गरिएको छ । गत आवमा यहाँका स्थानीय तहलाई रु ६४ लाखका दरमा रकम उपलब्ध गराइएको जिल्लाका सामाजिक विकास कार्यालयले जनाएका छन् । गत आर्थिक वर्षको जेठको अन्तिम समयमा बजेट पठाउँदा बजेट कार्यन्वयनमा चुनौती थपिएको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले बताउनुभयो ।

सो कार्यक्रमले गत वर्ष यहाँका स्थानीय तहले पदमार्ग, घोडेटो बाटो, मन्दिर, गा्रमीण सडक, खानेपानी निर्माणलगायतका काम गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button