गण्डकी खबर । स्याङ्जा आँधीखोलाका किसानलाई हाते ट्याक्टर प्रदान गरिएको छ ।
कृषकलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो । कृषकलाई व्यवसायिक कृषितर्फ अगाडि वढाउने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको उहाँले बताउनुभयो ।
‘गाउँमा गोरु पाल्ने चलन हराइ सक्यो । काम गर्ने मान्छे पनि छैनन्,’ उनले भन्नुभयोे, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं ।’ कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्मिला देवी पौडेलले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवालाई स्वदेशमा फर्कन आग्रह गर्नुभयो । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उनको भनाई छ ।
दिनभर लाएर गोरुको सहायतामा खेतबारी जोत्न परेको कुरा सुनाउँदै अबका दिनमा भने एक दुई घण्टामा आफ्नो खेतबारी जोत्न सकिने बताउँदै गाउँ पालिकाले किसानको हितमा काम गरेको कृषक तोयानाथ पौडेलले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आ.व २०७७ ७८ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेकोले युवालाई कृषि पेसामा लाग्न आग्रह गर्नुभयो ।
प्रति ट्याक्टर कुल ५५ हजार मध्ये किसानले २७ हजार पाँच सयमा ट्याक्टर प्राप्त गरेका हुन् । किसानहरूको अत्याधिक माग भएकोले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ जना किसानलाई ट्याक्टर वितरण गरिने पालिकाले जनाएको छ । पोखरा न्यूज