गण्डकीसमाचार

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला विजयी

गण्डकी खबर । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी हुनु भएको छ । शनिवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिष्पर्धी विन्दु कोईराला सुवेदीलाई पराजित गर्दै कोइराला संघको नयाँ नेता बन्न सफल हुनुभएको हो । कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गर्नु भएको थियो ।

नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष कोइराला र निवर्तमान उद्योगतर्फकी उपाध्यक्ष सुवेदीको प्यानल वीच चुनावी प्रतिष्पर्धा थियो । अध्यक्ष सहित अधिकांश पदाधिकारी र सदस्यहरु कोइराला प्यानलबाट विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन प्रजापति निर्विरोध निर्वाचित हुनु भएको थियो ।

उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की एक हजार ३२७ मतका साथ विजयी हुनु भएको छ । स्वतन्त्र उम्मेदवार कार्की र कोइराला प्यानलबाट चिनुकमारी गुरुङ चुनावी मैदानमा हुनु हुन्थ्यो । गुरुङले एक हजार १४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल एक हजार २४४ मतका साथ विजयी हुनु भएको छ । सुवेदी प्यानलबाट प्रतिष्पर्धामा रहनु भएका निवर्तमान कार्यकारिणी सदस्य सोवित पौडेलले एक हजार ९६ मत प्राप्त गर्नुु भएको छ ।

महासचिवमा कोइराला प्यानलबाट निवर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे एक हजार ५१४ मतका साथ विजयी बन्नु भएको छ । उहाँका प्रतिष्पर्धी सुवेदी प्यानलका धनीराम बरालले ८२८ मत प्राप्त गर्नुु भयो । कोषाध्यक्षमा कोइराला प्यानलबाट निवर्तमान सदस्य बलराम आचार्य १ हजार २६५ मतका साथ विजयी हुनु भएको छ । उहाँका प्रतिष्पर्धी सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगानाले एक हजार १७ मत प्राप्त गर्र्नुु भएको छ ।

उपमहासचिव पदमा केशबबहादुर खत्री विजयी हुनु भएकोछ । नारायण कोइराला प्यानलबाट उपमहासचिव पदको उम्मेदवार बन्नु भएका खत्रीले सुवेदी प्यानलका धर्मराज बर्तौलालाई पराजित गर्नु भएको हो । खत्रीले एक हजार ३२३ र बर्ताैलाले एक हजार १३ मत प्राप्त गर्नु भएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा खुला सदस्य पदमा शोभा गौतम एक हजार ७००, देवेन्द्र केसी एक हजार ६८५, कुमारी मुना बाँस्तोला एक हजार ६२६, उत्तममान वुद्दाचार्य एक हजार ५९७, सुदीप प्रधानांग एक हजार ४१४ मत सहित विजयी हुनु भएको छ । त्यसैगरी हरिराज पन्त एक हजार ३८८, भरत केसी एक हजार ३सय, दिनेशचन्द्र बाँस्तोला एक हजार २८३, सुदनबहादुर कोइराला एक हजार २७९ र पवित्रा गुरुङ एक हजार २४१ मत ल्याइ विजयी बन्नु भएको छ । खुला सदस्यमा विजयी गुरुङ बाहेक नौजना कोइराला प्यानलबाट प्रतिष्पर्धामा हुनु हुन्थ्यो ।

संघको सदस्यको पदमा वस्तुगततर्फ ४ जना विजयी हुनु भएको थियो । बालकृष्ण कोइराला, राजेन्द्र गोङगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल विजयी हुनु भएको हो । गोङगजुले १८, कोइरालाले १६, तिमिल्सिना र भुजेल भने गोलाप्रथाबाट विजयी बन्नु भएको हो । वस्तुगत तर्फ २९ मत थियो भने ८ जनाले उम्मेदवारी दिनु भएको थियो । त्यस्तै एशोसियट सदस्यमा कोइराला प्यानलबाट उमेदवार भएका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध चयन हुनु भएको थियो । जम्मा २ हजार ९४० मध्ये निर्वाचनमा २ हजार ३ सय ६५ मत खसेको थियो । निर्वाचन समितिका संयोजक तिर्थ श्रेष्ठका अनुसार मतदानमा ७४.९८ प्रतिशत मत खसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button