Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»सही सूचना दिँदै बिजुली प्रवाह व्यवस्थित बनाउन प्रम कार्यालयको निर्देशन

    सही सूचना दिँदै बिजुली प्रवाह व्यवस्थित बनाउन प्रम कार्यालयको निर्देशन

    गण्डकी खबरगण्डकी खबर२७ पुष २०७७, सोमबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

    पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो ।

    प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ ।

    प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि छलफल आयोजना गर्नुपरेको प्रधानमन्त्री कार्यालयको ठहर छ । छलफलमा समस्या समाधानका उपायको खोजी मात्र नगरी उपभोक्ताले उठाएका जायज माग एवम् आलोचनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइयो । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा अन्य कारण के हो भन्ने तथ्य पत्ता लगाएर तत्काल समाधानको उपाय खोज्नुपर्ने साझा निष्कर्षसमेत निकालिएको छ ।

    छलफलमा प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

    यस्तै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौँ उपत्यकाका १० वितरण केन्द्रका प्रमुख उपस्थित छलफलमा समस्या समाधानमा हरसम्भव उपाय अपनाउन र उपभोक्तालाई सहज रुपमा सेवा दिनका लागि अहोरात्र परिचालित हुन तथा गुनासोरहित काम गर्ने विषयमा प्रतिबद्धता व्यक्त भएको छ ।

    मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणको बुझाइ छ । वितरण प्रणाली स्वस्थ र गुणस्तरीय नहुँदा देखिने समस्या विगतमा पनि थियो, आज पनि रहन्छ र भोलि पनि हुन्छ भन्दै त्यसलाई न्यून गर्दै जाने प्राधिकरणको योजना छ ।
    प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाएको छ । ती काम पूर्ण रुपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने विश्वास लिइएको छ ।

    यस्तो छ सर्ट डाउनको तथ्याङ्क
    प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौंँ उपत्यकामा गत मङ्सिरमा ३७ पटक छिनछिनमा बत्ती जाने(ट्रिपिङ) भएको छ । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेशनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।
    सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । गत वर्ष मङ्सिरमा ती काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द (सट डाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।

    प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषित रुपमा कटौती नगरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उहाँले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा खम्बा तथा ट्रान्सफर्मर सार्नुपर्र्नेलगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भए पनि त्यसलाई कम गरिएको जानकारी दिनुभयो ।

    हालसम्मको तथ्याङ्क हेर्दा गत वर्ष पुसभन्दा यस वर्ष ट्रिपिङ कम भएको छ । विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिने कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उहाँले भन्नुभयो, “प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ ग¥यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।” प्राधिकरणले ट्रिपिङ बढी हुने सबस्टेशनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काम निरन्तर भइरहेको जनाएको छ ।
    माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न प्राधिकरणले अहोरात्र काम गरिएको स्पष्ट पारेको छ ।

    विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने एवं ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको जनाइएको छ ।
    प्राधिकरणले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा १३२ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने कामलाई पनि गति दिने भएको छ । विशेष गरी विष्णुमती तथा वाग्मती नदी करिडोरमा मोनो पोल प्रयोग गरेर प्रसारण लाइन निर्माण गरिनेछ । उपत्यकामा जग्गाप्राप्तिमा सबैभन्दा बढी समस्या भएकाले त्यसको सम्बोधनका लागि वैकल्पिक उपायको खोजी गरिनेछ ।

    ‘नियतवश बदमासी गरेको भए कारवाही गर्नुस्’
    प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले नियतवश बदमासी गरेको भए प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न निर्देशन दिनुभयो । प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा वितरण केन्द्रका प्रमुखसमेत नयाँ भएकाले पनि सङ्क्रमणकाल जस्तो देखिन गएको जनाउँदै उहाँले केही कर्मचारीले बदमासी गरेको सूचनासमेत आएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।
    उहाँले नागरिकका तहबाट गुनासो नआउने गरी काम गर्न प्राधिकरणका कामु कार्यकारी निर्देशक एवम् वितरण केन्द्रका प्रमुखलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्रीका तहबाट गर्नुपर्ने सबै काम र सहयोग हुने आश्वासन दिँदै उहाँले भन्नुभयो, “ नागरिकले सहज रुपमा सेवा पाउनुप¥यो, त्यसका लागि केकस्ता उपाय अपनाउने भन्नेबारेमा व्यक्तिगत रुपमा वा संस्थागत रुपमा पनि भन्न सक्नुहुन्छ ।”

    प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले उपभोक्तालाई गुनासोरहित सेवा प्रदान गर्नका लागि अपनाउनुपर्ने सबै उपायको खोजी गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले प्राविधिक समस्या भए त्यसको निराकरणका लागि तत्काल लागिपर्न र नीतिगत तथा कानूनी प्रश्न भए त्यसको निरुपणमा आफूहरुले सहजीकरण गर्ने बताउनु्भयो ।

    उहाँले उपभोक्ताले कुनै पनि गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न र उनीहरुलाई सही सूचना पु¥याउने संयन्त्रको विकास गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “मातहतका कर्मचारीमा ‘अर्जेन्सी फिल’ भएको छैन भने त्यसलाई सम्बोधन गरेर अगाडि बढ्नुस् । कर्मचारीलाई इन्सेन्टिभ दिनुस् । गुनासो सम्बोधन गर्न मेहनत गर्नुपर्ने पनि हुन सक्छ । त्यसमा ध्यान दिनु आवश्यक छ ।”
    उहाँले उपभोक्ताबाट प्राप्त गुनासोलाई सम्बोधन गर्ने उपयुक्त संयन्त्रको खोजी गर्नसमेत प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले थप जोड दिएर भन्नुभयो, “गुनासोलाई सामाजिक सञ्जालमार्फत वा वेब पेजलाई थप प्रभावकारी बनाएर सम्बोधन गर्नुपर्ने भए पनि त्यसमा ध्यान दिनु जरुरी छ ।”

    सामाजिक सञ्जालमा आउने महत्वपूर्ण विषयलाई महत्वका साथ संयन्त्र बनाएर सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो । बजेट, नीति तथा कार्यक्रमले सम्बोधन गर्ने विषय भए आफूहरुले नै गर्ने जनाउँदै सचिव ज्ञवालीले गुनासो आएकै बेलामा सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
    ऊर्जा सचिव घिमिरेले उपभोक्ताको गुनासोलाई मार्गदर्शन मान्दै समस्या समाधानमा निरन्तर परिचालित हुन प्राधिकरणलाई निर्देशन दिनुभयो । उपभोक्ताबाट आउने गुनासो सम्बोधन गर्न कुनै पनि कन्जुस्याइँ गर्न नहुने उहाँको भनाइ थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.