
गण्डकी खबर । परापूर्व कालदेखी नै पोखरा-१७ को ढुङ्गे साँघुमा मकर संक्रान्ति मेला संचालन हुदै आएको छ ।
कोरोना कहरकाबीच यस वर्षपनि ढुङ्गे साँघुमा मकर संक्रान्ति मेला गर्ने तयारी गरिएको छ । तनहुँको देवघाटमा भने मक्रर संक्रान्ति मेला बन्द गरिएको छ ।
परापूर्व कालदेखी नै ढुङ्साँघु मेलामा कन्दमुल खाने, घरेलु औजार कुटो, कोदालो, हसियाँ, डोको डालोलगायतका सामाग्री बिक्रीका लागि राखिने भएपनि पछिल्लो समय ढुंङ्गे साँघु मेलामा अन्य होजियारीका सागै अन्य सामाग्री पनि बिक्रीको लागि राख्न शुरु गरिएको छ । सदा शिव सिद्धेश्वर हरिहर मन्दिरले पछिल्लो मेलाको नेतृत्व लिदै आएको छ । मेलामा हुने पुरानो चलन रातभर भजन कीर्तन, दुई दिन एक रातको स्वस्थानी ब्रतको पूर्ण बिधि, विभिन्न जातिका संस्कृति,पर्व पूजा, हाट बजार संचालन हुदै आएको छ ।
स्थानीय धार्मिक व्यत्तित्व तार गौतम पाखेले बहु सांस्कृतिक धरोहर ढुङ्गे साँघुको मेलाको संरक्षण गर्न जरुरी रहेको बताउनुहुन्छ । हरिहर दर्शन , राम–सीता, शिव दर्शन लगाएत सम्पूर्ण देवीदेवता समेत हरिहरको ज्योति स्वरुप दर्शन गर्न ढुङ्गे साँघुमा आउने गरेको विश्वास गरिदै आएको जानकारी गौतमले दिनुभयो ।
माघे संक्रान्तिबाट जाडो कम हुदै जान्छ भन्ने मान्यता पनि छ, ज्योतिष विज्ञानको मान्यता अनुसार माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने छन् । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ ।
अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर प्राण धान्ने पुरानापाका भन्छन् । स्थानीय वृद्ध हेरम्भ पराजुली भन्नुहुन्छ –संक्रान्तिमा घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।
स्थानीय दीपक आचार्य भन्नुहुन्छ–स्वास्थानी व्रत विशेष गरि पोखराको ढुङ्गे साँघुमा हुन्थ्यो,त्यो जम्मा दुई दिन एक रातको हुन्थ्यो । पोखरा–१७ मा सीता पाइला समेत रहेको र त्यहाँ सबैले परापूर्व कालदेखि फूल चढाउने गर्थे । करिब ४ सय १२ वर्ष अगाडि एक महिने विधिका पुस्तक आएपछि यो व्रत नयाँ तरिकाले अगाडि बढेको हो । शुरुका वर्षमा माथिल्लो तटीय स्थलमा मेला लाग्ने गरेपनि पछिल्ला वर्षमा भीड वढेपछि तल्लो तटीय भागमा मेला लाग्दै आएको छ ।
पछिल्ला वर्ष मेला मेलाको रुपमा नभई व्यापारिक रुपमा विकास भएको स्थानीयहरु वताउछन् ।