गण्डकी खबर । लागुऔषध खैरो हिरोइन कारोवार गर्ने नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ रहेका छन् ।
सार्वजनिक कार्यक्रममा ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले लागुऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकाभित्र लागुऔषध कारोवार गर्ने अन्य व्यक्तिको पनि खोजी भइरहेको छ”, उहाँले भन्नुभयो ।
प्रहरीले पक्राउ परेकासँग ५३६ ग्राम खैरो हिरोइन, ७.५ ग्राम एमफेटाइमन आइस ड्रग र लागुऔषध तौल गर्ने मेसिनसमेत बरामद गरेको छ । यस्तै छ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, छ हजार १०० अमेरिकन डलर, तीन थान मोटरसाइकल तथा स्कुटरसमेत बरामद गरेको हो ।
पक्राउ व्यक्तिले खैरो हिरोइनको एक ग्रामको तीन हजारदेखि १० हजारसम्म बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको ब्युरोले जनाएको छ ।