गण्डकी खबर । बोदेवरसाइन–विष्णुपुर सडकखण्डअन्तर्गत सप्तरीको बोदेवरसाइन नगरपालिका–२ स्थित जोगीयामा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विष्णुपुरबाट बोदेवरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं २–०१–००१प ६४०३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । दुर्घटनापछि गम्भीर घाइते भएका चौधरीको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र मोटरसाइलको पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन् । घाइते दुवैका उपचार युनिक अस्पतालमा भइरहेको छ । उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय बोदेवरसाइनले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई प्रतिवादी कारागार चलान
सप्तरीमा सवारी ज्यान मुद्दा र चोरी मुद्दामा पक्राउ परेका दुई प्रतिवादीलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहका अनुसार सप्तरीको खडक नगरपालिका–३ घर भई हाल खडक नगरपालिका–११ बस्ने २९ वर्षीय लक्ष्मी चौधरीलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतको आदेशमा उनीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
यस्तै मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ सखडा निवासी २४ वर्षिय मनोजकुमार चौधरी धरौटी तिर्न नसक्दा उनी पनि कारागार चलान भएका छन् । अदालतले चौधरीसँग रु ५५ हजार धरौटी माग गर्दा उक्त धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको बोदेवरसाइन नगरपालिका–५ स्थित विष्णुपुर बोदेवरसाइन सडकखण्डमा पुस ११ गते लक्ष्मी चौधरीले चलाएको प्रदेश नं २ ०१–००१प ७५३३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उक्त मोटरसाइकलमा पछाडि सवार सोही स्थान निवासी २२ वर्षीय देवेश चौधरी घाइते भएका थिए । उनको उपचारका लागि लहानतर्फ लाने क्रममा बाटोमै मृत्यु भएको थियो । सोही घटनामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै मनोज चौधरीलाई गत पुस १४ गते जिल्लाको रुपनी गाउँपालिका–१ स्थितमा उपेन्द्रप्रसाद चौधरीको पार्किङ गरिराखेको रा१प २६१६ नंको मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।