
गण्डकी खबर । भूकम्पले पूर्ण क्षति बनाएको छ वर्षपछि यहाँ बल्ल गुम्बा पुनःनिर्माण हुन थालेको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षति बनाएको लमजुङको गुम्बामध्ये एक गुम्बाको केही दिनअघिबाट निर्माण थालनी भएको हो ।
जिल्लामा छ वटा गुम्बा पूर्ण क्षति भए पनि चालु आवमा सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित समुता गुम्बाको पुनःनिर्माण शुरु भएको हो । उक्त गुम्बाको जग हाल्ने र १८ पिलर उठाउने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङका इञ्जिनीयर शैलेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार रु ८१ लाख ४२ हजार ८९९.५४ मा सो गुम्बाको निर्माण सम्पन्न हुनेछ । सत्तरी प्रतिशत राष्ट्रिय पुनःनिर्माण र ३० प्रतिशत रकम उपभोक्ता समितिको लगानी हुने एकाइका इञ्जिनीयर चौधरीको भनाइ छ ।
त्यस्तै पुनःनिर्माण हुन बाँकी दोर्दी गाउँपालिका–७ का धेछेन ख्यालुङ बौद्ध, दूधपोखरी गाउँपालिका–४ का सुबछिङ गुम्बा, राइनास नगरपालिका–७ को धुछेन सिंह गुम्बा, मध्यनेपाल नगरपालिका–५ का बुद्धसेवा स्मृति र क्व्होलासोथर गाउँपालिका–९ का सौवछिरिङ गुम्बा रहेका छन् । त्यस्तै भूकम्पले क्षति पु¥याएको आठ गुम्बामध्ये गत आवमा छवटा गुम्बाको मर्मत भएको थियो । अझै दुई गुम्बाको मर्मत काम बाँकी रहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
कार्यालयका अनुसार मर्मत हुन बाँकी क्व्होलासोथर गाउँपालिका–६ पसगाउँका कर्मा थुक्जे गुम्बा र सुन्दरबजार नगरपालिका–९ का कर्मा सौपिर गुम्बा रहेको छ । विनियोजित रकम कम भएको, वर्षायामका बेला सडक खराब भएकाले मर्मत गर्न नसकेको बताइएको छ । उक्त निर्माणाधीन गुम्बा आगामी असारसम्म निर्माण सक्ने लक्ष्यका साथ काम अघि बढिरहेको समुता गुम्बा निर्माण उपभोक्ता समितिका सचिव बिरसिङ घलेले बताउनुभयो । उहाँका अनुसार गुम्बाको एक रोपनी जग्गा रहेकामा सात आनामा गुम्बा निर्माण भइरहेको छ । यस गुम्बा विसं २०४५ मा निर्माण भएको थियो । उक्त समयमा गएको भूकम्पले पूर्ण क्षति बनाएपछि यतिका समयसम्म पुनःनिर्माणको पर्खाइमा रहेको थियो ।
भूकम्पले जिल्लाका आठवटा गुम्बामा आंशिक क्षति र छ वटामा पूर्ण क्षति भएको थियो । यसमध्ये अझै दुईवटा गुम्बा मर्मत र पाँचवटा गुम्बा पुनःनिर्माण गर्न बाँकी रहे पनि चालू आवमा मर्मत तथा निर्माण नहुने एकाइले जनाएको छ ।