गण्डकीसमाचार

स्याङ्जाको वालिङमा पहिलोपटक थाङ्का/पौभा कला प्रदर्शनी

गण्डकी खबर । स्याङ्जाको वालिङमा नेपालको मौलिक कलाका रूपमा परिचित थाङ्का/पौभा कलाको प्रदर्शनी गरिएको छ ।

नेपालको हिमाली, पहाडी तथा काठमाडौँ उपत्यकाभित्र सिर्जना भएका थाङ्का/पौभा कलालाई नेपालभर चिनाउने, बुझाउने र यसको महत्वका बारेमा जानकारी गराउने मुख्य उद्देश्यले प्रदर्शनी गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँका परम्परागत शिल्पकला विभागका प्रमुख प्राज्ञ बुद्धिबहादुर गुरुङले बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान शिल्पकला विभागको आयोजनामा वालिङमा बुधबार र बिहीबार नेपाली कलाका दिवङ्गत तथा वर्तमानका चर्चित अग्रज तीन दर्जन बढी कलाकारका चित्रकला प्रदर्शनी गरिएको प्राज्ञ गुरुङले बताउनुभयो । “कलाको विकासबिना समाज र राज्यको विकास हुन सक्दैन”, प्राज्ञ गुरुङले भन्नुभयो, “विकासको अनुभूति गर्न हामीले स्थानीय सङ्घसंस्थाको संयोजनमा उपत्यका बाहिर मोफसलमा पनि कलाको विकासमा जोड दिनका लागि प्रदर्शनी गरेका हौँ ।”

नेपालका सातवटै प्रदेशमा परम्परागत चित्रकला प्रदर्शनी तथा यसको प्रचारप्रसार गर्ने लक्ष्य राखेर अभियान थालिएको प्राज्ञ गुरुङले बताउनुभयो । नेपालको हिमाली, पहाडी भागमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी र काठमाडौँ उपत्यकामा बसोबास गर्ने हिन्दू एवं बौद्ध धर्म मान्ने नेवार समुदायले परम्परादेखि बनाउँदै आएको कलालाई उपत्यकामा मात्रै सीमित नाराखी यसलाई सातवटै प्रदेशमा पुर्याउने लक्ष्यअनुरुप गण्डकी प्रदेशको वालिङमा प्रदर्शनी गरिएको प्राज्ञ मानबहादुर दोङले बताउनुभयो ।

“सीमित ठाउँमा मात्रै रहेको परम्परागत चित्रकला प्रदर्शनीलाई व्यापकताका लागि प्रतिष्ठान, केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पहल लिनुपर्ने आवश्यकता छ”, प्राज्ञ दोङले भन्नुभयो, “उपत्यका बाहिर कला र यसको चेतनालाई गाउँगाउँमा पु¥याउनुपर्छ भन्ने लागेर देशभर प्रदर्शनीमा लागेका हौँ ।” गण्डकी प्रदेशको वालिङमा पहिलोपटक मौलिक पहिचान झल्कने परम्परागत चित्रकला प्रदर्शनीले थप ऊर्जा र यसको महत्वलाई अझै उचाइमा पुर्याएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“कला संस्कृति हाम्रा सभ्यता हुन्”, प्रमुख खाँणले भन्नुभयो, “परम्परागत कलालाई देशव्यापीरूपमा चिनाउन आगामी दिनमा नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।” कला र साहित्यको महत्व धेरै रहेको बताउँदै उहाँले समाज रूपान्तरणमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षण तथा अन्तरक्रिर्यात्मकरूपमा दुई दिन सञ्चालन भएको प्रदर्शनीमा कलाकार, समाजसेवी, साहित्यकार, विद्यार्थीलगायतको सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button