
गण्डकी खबर । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जोर्डनसंग ३-० ले पराजित भएको थियो ।
तर नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताएका छन् ।
‘आशा छ हामी अष्ट्रेलियाविरुद्ध अर्को राम्रो खेल खेल्नेछौं। हाम्रो खेल्ने शैली सुधार भएको छ र हामीले हाम्रा समर्थकहरुलाई खुशी पार्न सकेका छौं,’ प्रशिक्षक अलमुताईरी भन्छन् ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको ‘प्ले अफ’को माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।
यदि नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथों हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ । यो समीकरण लगभग असम्भव जस्तै रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब। प्ले अफ’ नै खेल्नुपर्नेछ ।
प्रशिक्षक अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीले मौका पाउने बताउँदै, ‘सबै ठीकठाक छ भने उनीहरूले खेल्ने छन् । म बुझ्छु, अष्ट्रेलियाविरुद्ध खेल्नु गार्हो छ तर उनीहरूले खेल्नु महत्वपूर्ण छ,’ उनले भने ।
पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ । अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको बताउँछन् ।
समूह ‘बी’ मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथों स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ ।
हेड टु हेड
नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग खेलेको थियो ।
अष्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार व्यहोरेको थियो । क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल घरेलु टिमसँग ५-० ले पराजित भएको थियो ।