समाचार

बागलुङमा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी

गण्डकी खबर । कोरोना सङ्क्रमितको सङ्ख्या पुनःउकालो लागेको छ ।

स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ ।

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ सङ्क्रमित फेला परेको जानकारीदिनुभयो ।

“आज निको हुने थपिएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या केही घट्न पनि सक्छ”, उहाँले भन्नुभयो ।

पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ ।

बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या ४९७ पुगेकामा अहिले बढेर ५८० पुगिसकेको छ ।

गत असार तेस्रो साता जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर २५४ मा पुगेको थियो ।

यसपछि भने सङ्क्रमितको सङ्ख्या लगातार बढेको छ ।

यसरी केही समय थामिएजस्तो देखिएको सङ्क्रमण दर फेरि उकालो लागेको हो ।

जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २७.४ प्रतिशत छ जबकि नेपालको सङ्क्रमण दर १९.०३ प्रतिशत मात्र छ ।

देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ ।

नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने बागलुङमा ९१ प्रतिशत ।

देशभर मृत्युदर १.०५ हुँदा यहाँ भने त्यो भन्दा कम ०.९९ प्रतिशत छ ।

कोरोनाका जिल्लामा हालसम्म ६३ ले ज्यान गुमाएका छन् ।

जिल्ला बाहिर पनि मृत्युवरण गर्नेको सङ्ख्या हेर्दा भने सयभन्दा बढी पुगेको स्रोत व्यक्ति घिमिरले बताउनुभयो ।

सङ्क्रमणसँगै मृत्युका घटना पनि बढ्न थालेका छन् ।

निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ

गर्नुपर्ने धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले बताउनुभयो ।

हरेक व्यक्ति स्वयं सतर्क र जिम्मेवार नभएसम्म सङ्क्रमण रोकथाम गर्न नसकिने उहाँको भनाइ छ ।

होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेषरुपमा चनाखो बन्न चिकित्सकले सुझाएका छन् ।

सङ्क्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल आउँदा कोरोनाको उपचार प्रभावकारी नहुने चिकित्सक बताउँछन् ।

पहिलो र दोस्रो लहरमा गरी यहाँका २२ हजार मा कोरोना परीक्षण गर्दा ६३०० बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

कोरोना नियन्त्रणका लागि खोप अभियान पनि चलिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button