
गण्डकी खबर । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ ।
कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।
सो कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ-नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते,
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो ।
क्रियाशील सदस्यताको विवादका कारण हालसम्मका अधिवेशन कार्यतालिका प्रभावित भइसकेका छन् ।
तसर्थ बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।
कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा भएको थियो ।
पार्टी विधानको सुविधाअनुसार कांग्रेसले एक वर्ष म्याद गर्नुका साथै सो म्याद पनि गत फागुन २० गते समाप्त भएपछि
संविधानको प्रावधानअनुसार छ महिना अवधि थप गरेको थियो ।
विभिन्न कारण देखाउँदै पटक पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसका लागि अब महाधिवेशनको नयाँ मिति कसरी
कुन विधिअनुसार तोक्ने भन्ने सम्बन्धमा ठूलो चुनौती छ । रासस



