गण्डकी खबर । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी
घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको
भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय
गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग
पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि
नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका
लागि प्रसिद्ध मानिन्छ ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि
नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो ।
नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र
भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने
गरिएको हो ।
प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ ।
भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीरामचन्द्रका भाई लक्ष्मण र
कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ ।
दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रूपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई
सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ ।
भगवान् विष्णुको नवौँअवतारका रूपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा
मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ ।
मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ ।
जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।
पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् ।
जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ ।
एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन वटा बच्चा भेट्टाए र मारिदिए ।
ती बच्चाकी आमा आहारा खोजेरआउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन् ।
रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि
रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।
संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् ।
नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् ।
किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म
तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले
दया गरी किसानकी छोरीलाई छोडिन् ।
मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले
पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् ।
किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा
मातापिता र भाइलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।
प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् ।
यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमीअर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।
गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले
गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएकोदेखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।
संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् ।
श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ ।
गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमीअर्थात् आजैको दिन बर्सातको शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त,
वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा
विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।
वैज्ञानिकरूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई
विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । रासस