खोटाङ, ४ पुस । कोभिड–१९ को महामारी न्यून भएपछि खोटाङका राई समुदायले धूमधामका साथ साकेला उँधौली मनाउन सुरु गरेका छन् । कोभिडको महामारीका कारण दुई वर्षसम्म साकेला उभौली/उँधौली मनाउन नपाएका राई समुदायले संक्रमण दर न्यून भएपछि साकेला उँधौली भने धूमधामका साथ मनाउन थालेका हुन् ।
कोभिडको महामारी सुरु भएपछि जिल्लामा साकेला उभौली/उँधौली विधि फुकाउनमै सीमित गरिएको थियो । ढोल, झ्याम्टा र साकेला गीत गुन्जिने उभौली चाड कोभिडका कारण सुनसान बनेको थियो ।
साकेला उधौलीको अवसरमा आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पुगेर शुभकामना आदान–प्रदान सहित बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात राई यायोक्खा, किरात सेवा समाज र मझुवा गढी संरक्षण पर्यटन प्रवर्द्धन समितिको संयुक्त आयोजनामा मझुवागढीमा साकेला सिली प्रदर्शन गर्दै साकेला उँधौली मनाउन सुरु गरिएको हो ।
कोभिडको संक्रमण दर न्यून भएपछि उधौलीमा स्थानीयको बाक्लो भिड देखिएको थियो । यस साकेला उधौलीलाई कोभिडपछिकै बृहत् तरिकाले मनाउन सुरु गरिएको किरात सेवा समाजका अध्यक्ष दिनेश राईले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण २०७७ र २०७८ सालको साकेला उभौली/उँधौली औपचारिकतामा समिति बनेको थियो ।
आगामी शनिबार दिक्तेलको हेलिप्याडमा साकेला सिली प्रदर्शन गरिने किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए । घरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाएर पूजा गर्दै १५ दिनसम्म साकेला उँधौली मनाउने गरिन्छ ।
पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा वैशाख पूर्णिमाको अवसरमा उभौली र मंसिर पूर्णिमाको अवसरमा उँधौली मनाउने गरिन्छ ।
राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको किरात राई यायोक्खा सचिव किरात बताउँछन् । चराचुरुङ्गी बेँसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेँसीतिर झर्ने जाडो याममा उँधौली पर्ब मान्ने प्रचलन छ ।
किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा महिना दिनसम्म मनाउने गरिन्छ । साकेलाको अवसरमा परम्परागत भेसभुसामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने प्रचलन छ ।
साकेन्वा, साकेवा, साकलालगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ ।
किरात बसोबास रहेको प्रत्येक गाउँ युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले दिनरात गुञ्जायमान बन्ने गरेको छ । आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–ब्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्दै परिकार खाएर रमाइलो गर्ने गरिन्छ । विभिन्न जातजातिको मिश्रित बसोबास रहेको ठाउँका गैर–तिराकीले समेत जातीय सद्भाब र सांस्कृतिक सहअस्तित्वकारूपमा साकेला नाच्ने गरेका छन् ।