देश/ समाजसमाचार

हुलाकी राजमार्गले स्थानीयमा ल्याएको परिवर्तन

झापा, ९ माघ। गौरीगञ्ज-१ का ७३ वर्षीय रामप्रसाद प्रसाईं २०३२ सालमा यहाँ आउँदा जग्गा प्रतिबिघा १०/१२ हजार थियो । वरिपरि जंगल थियो । भारतबाट आउने डाकाका कारण बस्नै मुस्किल थियो । जंगलको बीचमा चिठ्ठी बोकेर हिँड्ने हुलाकी हिँड्ने सानो बाटो थियो । ‘म त सानैमा आसाम गको थिएँ । फर्केर आउँदा बुबाआमा यो ठाउँमा बस्नुभएछ । मलाई त बस्ने मनै थिएन । तर, बुबाआमाका कारण बाध्य भएर बसेँ,’ प्रसाईं भन्छन्, ‘यहाँ त पहिला त बिरक्त लाग्ने ठाउँ थियो । भारतका डाकाले गोठबाटै गोरु चोरेर लैजान्थे ।’ आसाममा गाई पालेर ल्याएको पैसाले चार बिघा जमिन किने । उनको जमिन हुलाकी हिँड्ने बाटोसँगै जोडिएको थियो ।

पछि हुलाकी हिँड्ने बाटोमा ठूलो सडक बनाउने चर्चा सुरु भयो । हुलाकी राजमार्ग बन्छ भन्ने उनलाई पत्यार थिएन । ‘हामी आएको केही वर्षबाट नै हुलाकी राजमार्ग बन्छ भन्ने चर्चा सुनेका थियौँ । तर, लामो समयसम्म हल्ला मात्र भयो कसरी विश्वास गर्ने ?,’ उनी भन्छन्, ‘पहिला त कहाँ आएर पसेँ जस्तै हुन्थ्यो । हुलाकी राजमार्गभन्दा पहिला जताततै बाटो बन्यो ।’ अहिले उनको घरै अगाडि हुलाकी राजमार्ग छ । कालोपत्रे सडक छ । गत वर्ष हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्जको रतुवा नदीदेखि माई नदीसम्म सडक कालोपत्रे भएको छ । ‘यो ठाउँमा त पिच सडक देख्ने आस नै थिएन । तर, पोहोर साल घरै अगाडि सडक कालोपत्रे भयो,’ उनी भन्छन्, ‘जीवनको उत्तरार्धमा भए पनि कालोपत्रे सडक घरै अगाडि आयो । यो खुसी त कसरी व्यक्त गरौँ ?’

गाई पालेर दूध बेचेर खाने प्रसाईंको जीवनमा हुलाकी राजमार्गले ठूलो परिवर्तन आएको छ । राजमार्ग सञ्चालनमा आएपछि उनले उत्पादन गरेको दूधले बजार पाउने आस उनको छ । उनको चार बिघा जग्गाको मूल्य आकाशिएको छ । हुलाकी राजमार्ग आएसँगै विगतमा मूल्य नै नभएको यो ठाउँको जग्गा किन्न दैनिक मान्छेहरू आउने गरेको उनी बताउँछन् ।

‘मेरो त सबै जग्गाको मुख हुलाकी राजमार्गमा पर्छ । जग्गा करोडौंको भएको छ । अहिले १५-२० लाख कठ्ठाले माग्न आएका छन्,’ उनी भन्छन्, ‘राजमार्ग सञ्चालनमा आएपछि त झन् भाउ कहाँ पुग्छ होला ?’

हुलाकी राजमार्गअन्तर्गत गौरगञ्ज-२ का होमनाथ निरौलाको नाै कठ्ठा जग्गा छ । विगतमा जग्गा विक्री गर्छुभन्दा पनि नबिकेको जग्गा किन्न अहिले दैनिक ग्राहक आउँछन् । ‘पहिला त आवश्यक परेर बेच्छुभन्दा पनि विक्री हुँदैन थियो । अहिले दिनैपिच्छे मान्छे आउन थालेपछि अचम्मित छु,’ उनी भन्छन्, ‘राजमार्ग संचालनमा आएपछि जीवनस्तर नै होला भन्ने आस छ ।’

राजमार्ग आउँदा स्थानीय पवित्रादेवी दाहाल खुसी छिन् । तर राजमार्गले जग्गाको मूल्य बढाएर मात्र केही नहुने उनी बताउँछिन् । ‘जग्गा खासै छैन । जग्गाको भाउ बढेर मात्र के हुन्छ र ? हामी जग्गा खासै नभएका मान्छेले के बेच्नू ?,’ उनी भन्छिन्,‘गाउँमा रोजगारी, अस्पताल आए पो हामीले सुख पायौँ भन्न मिल्थ्यो ।’

हुलाकी राजमार्गले स्थानीयमा खुसी त ल्याएको छ । तर, राजमार्गअन्तर्गत पर्ने नदीहरूमा दशकदेखि पुल निर्माण नहुँदा स्थानीय चिन्तित् छन् । पुलकै कारण आफ्नो जीवनकालमा राजमार्ग नचल्ने हो कि भन्ने चिन्ता पनि छ । ‘सडक त बन्यो । तर, दश वर्षभन्दा धेरै समयदेखि माई, बिरिङलगायतको पुल बनेको छैन । यसले हामीलाई एकदमै चिन्ता थपेको छ,’ रामप्रसाद भन्छन्, ‘हाम्रो जीवनकालमा यी पुल त चल्ला जस्तो लाग्न छाड्यो । सरकारले पनि पुल निर्माणमा ध्यान दिनुपर्‍यो । नभए त सडक मात्र बनेर के गर्नू ? प्रयोग भएन भने के काम ?’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button