गण्डकीदेश/ समाजसमाचार

करापुटार, डढुवा सडकखण्डको स्तरोन्नतिकाे काम धमाधम

लमजुङ,१८ माघ। लमजुङको क्व्होलासोथर गाउँपालिका जोड्ने करापुटार–डढुवा–साल्मे मालिङ सडक अन्तगर्त दोस्राे खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ ।

मध्यनेपालको करापुटार रामबजारदेखी क्होलासोथार सीमाना डढुवा सम्मको सडक निर्माण कार्य सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र एक सडक अन्तर्गत क्रमागत योजनामा परेको करापुटारदेखि डढुवासम्म दोश्रो खण्ड सडक निर्माणको काम चालु आर्थिक वर्षबाट सुरु भएकोे छ ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले पूर्वाधार विकास कार्यालय मार्फत बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले बजेट विनियोजन गरेको सडक योजना मध्ये ६ वटा सडक योजनाका लागि एक करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये सवैभन्दा बढी करापुटार डढुवा साल्मे भन्ज्याङ मालिङ कपुरगाउँ सडकका लागि छ । दुई खण्डमा काम भएको उक्त सडक अन्तर्गत पहिलो खण्ड डढुवा–साल्मेका लागि मात्रै १९ करोड ७२ लाख २५ हजार रुपैयाँ छ ।

करापुटार–डढुवा अन्तर्गत नौ किलोमिटर सडक स्तरोन्नतीका लागि मूल्य अभिबृद्धि करसहित ३१ करोड २३ लाख ३० हजार दुईसय ७० रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको छ ।

दुई वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको सो सडक निर्माणको क्रममा हालसम्म करिव नौ प्रतिशत भौतिक प्रगति र आठ दशमलव ७१ प्रतिशत वित्तिय प्रगती भइसकेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख एवं इन्जिनियर सुमन गिरीले बताए । हाल सडक चौडा गर्ने, तार जाली लगाउने र ग्राबेल गरी हिउँद-बर्खा दुवै समय यातायात सञ्चालन हुनेगरी सडक निर्माणलाई तिव्रता दिएको कार्यालयले जनाएको छ ।

सडक स्तरोन्नतीका लागि ०७८ आसोजमा सम्झौता भएको र ०८० असोजसम्म सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ । सडक स्तरोन्नतीका लागि रसुवा जया दाङवा जेभी कन्सट्रक्सन प्रालिले जिम्मा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button