लमजुङ, २३ माघ। चालु आव २०७८/७९ को ६ महिनामा लमजुङमा सवारी कारवाहीबाट २४ लाखभन्दा बढी रकम राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम विपरित चलेका सवारी कारवाहीबाट २४ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । ६ महिलाको अवधिमा जिल्लामा तीन हजार आठ सय सवारीसाधन कारवाहीमा परेको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक विष्णुबहादुर नेपालीले बताए । ०७८ साउनदेखि पुसमसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा पर्ने सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् ।
६ महिनाको अवधिमा दुई हजार ७२ मोटरसाइकल कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा परेका मोटरसाइकलबाट मात्रै १३ लाख ७८ हजार पाँच सय रुपैया राजश्व संकलन भएको छ । सोही अवधिमा आठ सय ५४ जिप, कार, भ्यान ट्राफिक कारवाहीमा परेका छन् । जिप, कार भ्यानलगायत चारपाङ्ग्रे सवारीसाधनकाे कारवाहीबाट मात्रै पाँच लाख २७ हजार रुपैया राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीका अनुसार ६ महिनाको अवधिमा जिल्लामा तीन सय ३९ ट्रक, ट्रिपर, दुई सय २९ बस, दुई सय ७१ ट्याक्टर कारवाहीमा परेका छन् ।
कारवाहीमा परेका ट्रक-ट्रिपरबाट एक लाख ९९ हजार, बसबाट एकलाख ४० हजार र ट्याक्टरबाट एक लाख ७३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै अन्य २४ सवारी कारवाहीबाट २९ हजार पाँच सय राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । ट्राफिक प्रहरी जवान उज्जव पौडेलका अनुसार सोही अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ४८ जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगै समन्वय गरी जिल्लाको नाका-नाकामा र सवारी चाप बढी हुने स्थानहरूमा सवारी चेकजाँचलाई तीव्रता दिँदै आएको छ ।