गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरले सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउने पक्षमा आफू रहेको बताउनुभएको छ ।
सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा बिहीबार बागलुङ नगरपालिका-२ स्थित कालीगण्डकीमा आयोजित जल दुर्घटना उद्धार नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिनुभएको हो । मुलुकले उत्कृष्ट नतिजा पाउनका लागि सुरक्षाकर्मीहरुलाई प्रोत्साहान दिन आवश्यक रहेको मगरले उल्लेख गर्नुभयो ।
‘मुलुकले रिजल्ट पाउनका लागि लगानी गर्नैपर्छ । त्यसको लागि सुरक्षाकर्मीहरुको मनोबल बढाउनेगरी मैले पनि काम गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसैले राष्ट्रसेवकहरुको मनोबल उच्च बनाउने कुरामा म कन्जुस्याई नगरिकन नैतिक रुपमा र आवश्यक साधन र स्रोत जुटाउने कुरामा सकारात्मक छु ।’
उहाँले सुरक्षाकर्मीहरुलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सधै सकारात्मक रहेको स्पष्ट पार्दै सोही अनुरुपको कार्ययोजना अगाडी बढाउने बताउनुभयो । मन्त्री गाहामगरले राष्ट्र र जनताको पक्षमा सीमित स्रोत तथा साधनको प्रयोगमा कार्यसम्पादन गरेको बताउनुहुँदै सुरक्षाकर्मीहरुको योगदानको ढिलोचाँडो मूल्याङ्कन हुने बताउनुभयो ।
आन्तरिक मामिला मन्त्रालयद्वारा उद्धार अभ्यासका लागि विनियोजित बजेट यथेष्ट नभएको बताउदै आगामी दिनमा विपद् व्यवस्थापन सम्बन्धि थप तालिमको व्यवस्था गर्ने बताउनुभयो । मन्त्री गाहामगरले देश र राष्ट्र हितको पक्षमा काम गर्ने कसम खाएको बताउनुहुँदै भन्नुभयो, ‘हामी जस्तो सुकै समय र परिस्थितिमा भएपनि आफ्नो कार्यक्षमता र कर्तव्य पुरा गर्नुपर्छ । फलस्वरुप हामी नेपाली भनेर गर्व गर्न पाउँछौ ।’
उद्धार अभ्यास कार्यक्रमपछि आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहामगरको सभापतित्वमा गण्डकी प्रदेश सुरक्षा समितिले विपद् व्यवस्थापन सम्बन्धि छलफल गरेको थियो । छलफलमा आगामी वर्षातमा भइपरी हुने बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र आकस्मिक उद्धारबारे छलफल गरिएको थियो ।
सो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ, सशस्त्र प्रहरीका गण्डकी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक शम्भु सुवेदी, नेपाल आर्मीका विजयपुर पृतनापति दिपक कुमार बानियाँ, बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।