देश/समाजमुख्य खबरसमाचार

आज कुशेऔँसी : घर-घरमा कुश भित्र्याइँदै, यस्तो छ महत्व

पोखरा । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशेऔँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभरी प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर-घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

यज्ञादी कर्म गरिँदा कुशको आहुति केतु ग्रहलाई वैदिक मन्त्रकासाथ दिने चलन छ । यज्ञ गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ र रात्रिकालमा शुद्ध पानीमा भिजाएर राखेको कुशको पानीको प्रयोग वीणादि कलश स्थापना गरिँदा कलशमा राख्ने चलन पनि छ ।

देवी देवताको पूजामा अभिषेक, प्राण प्रतिष्ठा, प्रायश्चित, दशविध स्नान आदि गरिँदा कुश मिश्रित जल नै प्रयोग गरिन्छ । कुशासनमा बसेर पूजा गर्नु, कुशको औंठी देव कार्यमा साहिँली औंलामा र पितृकार्यमा चोर औंलामा लगाउनु, कुशलाई कम्मरमा सिउरिनु धार्मिक विधि हुन् ।
यद्यपि वैज्ञानिक दृष्टिकोणबाट पनि यसो गरिनु लाभदायक मानिएको छ । भनिन्छ कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बसाइले उच्च रक्तचापका विरामीलाई लाभ हुन्छ ।

नुहाउँदा, जप गर्दा, होम, स्वाध्याय, सन्ध्या, देवपूजा यज्ञ यज्ञादी कार्य गर्दा हातमा कुशको दण्ड लिएर बस्नु सनतनी हिन्दूले गर्ने कर्मको विशेषता हो ।

आयुर्वेदिक उपचारमा पनि कुशको महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ ।

कुशको प्रयोग श्वास, दाह, रक्तपित्त, रक्तविकार, तिर्खा, मिर्गौलाको पत्थरी, मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा आदिको उपचारमा गर्न सकिन्छ ।

कुश मानवले धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुन्छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आशनको रुपमा प्रयोग गरिन्छ ।

मानिसको जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक कर्ममा कुश नभइ हुँदैन । तर, कुश किन आवश्यक छ भन्ने कुरा धेरैलाई थाहा छैन ।

कुशको प्रयोगमा वैज्ञानिक कारण पनि छ । जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवदेहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निस्क्रिय होउन् भनेर कुशको प्रयोग गरिएको हो ।

ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुमा कुश राखिदिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव पर्दैन ।

कुण्डलीमा राहुको महादशा चल्दा पानीमा कुशको प्रयोग गरेर स्नान गर्दा यसको नकरात्मक असर कम हुने धार्मिक शास्त्रमा उल्लेख छ ।

कतिबेला र कसरी उखेल्ने कुश ?

औंशीको दिन प्रातः कालमा कुश उखेल्ने चलन नेपाली समाजमा छ । भाद्र कृष्ण औंशीको दिन कुश उखेल्नको लागि प्रातः कालमा स्नानादि नित्य कर्म सकी शुक्लपट्ट अर्थात् धोती लगाएर विधिपूर्वक पूजा गरेर प्रातः कालमै अर्थात् बिहानै उखेल्नु पर्छ ।

कुश उखेल्दा उत्तर या पूर्वतर्फ फर्किएर उखेल्नु पर्दछ । यही भाद्र कृष्ण औंशीको बेला उखेलिएको कुश दुई वर्षसम्म मात्र शास्त्रादी कर्मको लागि ग्राह्य हुने शास्त्रमा उल्लेख ।

कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गरिन्छ । बुवा नहुनेले तीर्थमा खासगरी उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा गएर श्राद्ध, तर्पण, दान गरिन्छ । विष्णुपादुकालमा गरिने श्राद्ध, तर्पण, दान गरेमा पितृ तर्ने धार्मिक विश्वास छ ।

तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्नुका साथै पितृले आशिर्वाद दिने र आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button