पोखरा । कास्कीमा ९७ वर्षका एक व्यक्तिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ निवासी ९७ वर्षका लिलाभक्त आचार्यले सोमबार कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन् ।
नेपाली कांग्रेस महासमिति सदस्य तथा कार्यक्रम संयोजक ऋषि काफ्लेले आचार्यलाई क्रियाशील सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरे । आचार्य नेपाली कांग्रेस कास्कीका पूर्वसभापतिसमेत हुन् ।
बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा पारेर आयोजित कार्यक्रममा पोखरा-१७ मा दुई सय १० जनालाई क्रियाशील सदस्यता वितरण गरिएको वडा सभापति देवराज आचार्यले जानकारी दिए । सो अवसरमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कास्की कांग्रेसले कास्कीका ७२ वटै वडामा एकै दिन क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।
पार्टी प्रवक्ता युवक लामिछानेका अनुसार यस कार्यक्रमका लागि कांग्रेसले सबै वडामा प्रतिनिधि खटाएको थियो ।