
पोखरा । गण्डकी प्रदेश सांसद प्रकाश बरालले सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्नुमा राजनीतिकर्मी दोषी रहेको बताएका छन् । मङ्गलवार पोखरा २२ स्थित पोखरा दर्शनीय स्थल आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
“सरकारी विद्यालयमा दिन प्रतिदिन विद्यार्थीको संख्या घटिरहेको छ । अभिभावकले आफ्ना छोराछोरीहरूलाई महँगो फी तिरेर बोर्डिङ स्कुल पठाइरहेका छन् । यसो हुनुमा हामी राजनीतिकर्मीकै दोष रहेको छ”, सांसद बरालले भने । पैसा बढी तिरेर मात्र राम्रो पढाई हुन्छ भन्ने भ्रम र सरकारी स्कुलमा राम्रो पढाई हुँदैन भन्ने निराधार हल्ला चिर्न राजनीतिकर्मीले पहल गर्न नसकेको उनको भनाई थियो । सर्वसुलभ रूपमा आम सर्वसाधारणका छोराछोरीले शिक्षा हासिल गर्न पाउने अवस्थालाई बढवा दिने दायित्व राजनीतिकर्मीकै भएता पनि त्यसमा चुकिएको हो की भन्ने भान भएको उनले बताए ।
अहिले हरेक सरकारी विद्यालयमा दक्ष जनशक्ति रहेको र ती विद्यालय बोर्डिङ स्कुल भन्दा कम नरहेको बताउँदै उनले अभिभावकले पनि सोच्ने बेला आइसकेको उल्लेख गरे । उनले भने – ‘महिनाको पाँच/सात हजार तिरेर पढाउँदैमा ठूलो भइन्छ र सरकारी स्कुलमा पढाउँदैमा सानो भइन्छ भन्ने सोच अभिभावकले पनि त्याग्नुपर्ने बेला आएको छ, सरकारी विद्यालयको शिक्षा धेरै गुणस्तरको भइसकेको छ ।”
विशेष अतिथि तथा समाजसेवी चन्द्रकान्त बरालले सरकारी विद्यालय पनि राम्रा भइसके भन्ने प्रमाण वार्षिकोत्सवको मनाइरहेको विद्यालयले दिएको भन्दै विद्यालयको शैक्षिक अवस्थाको प्रशंसा गरे । अनुशासन र पढाइ दुवैका हिसाबले विद्यालय अब्बल रहेको भन्दै उनले स्थानीयलाई आफ्ना बालबच्चालाई बाहिर नपठाउन आग्रह गरे । बरालले स्थानीय सीप हस्तान्तरण, दन्त शिविर, पुस्तकालय, खानेपानी लगायतका क्षेत्रमा विद्यालयलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
विद्यालयका पूर्व प्रधानाध्यापक मात्रिका बरालले सरकारी स्कुलको गुणस्तर सुधार गर्ने, क्षमता अभिवृद्धि गर्ने र संरक्षण गर्ने जिम्मा अभिभावककै हुने बताए । दाताले पोसाक देला, कपी किताब देला, खाजा देला भनेर हेर्न छाड्नुपर्ने र छोराछोरी पाइसकेपछि अभिभावकले नै आफ्नो दायित्व पुरा गर्नुपर्ने उनले बताए ।
वार्षिकोत्सवको अवसर पारेर स्कुल व्यवस्थापन समितिका संस्थापक सदस्य स्व. दुर्गाराज बास्तोलाको स्मृतिमा बास्तोला परिवारले अक्षयकोषको स्थापना गरेको छ । स्व. बास्तोलाकी धर्मपत्नी जमुना बास्तोला, छोराहरू भवानी शंकर बास्तोला, दीपेन्द्र बास्तोला, बुहारीहरू शान्ता बास्तोला, सीता बास्तोला तथा छोरीहरू पूर्णकला बास्तोला र लीला बास्तोलाले अक्षयकोष स्थापनाका लागि रु ५० हजारको चेक विद्यालयलाई हस्तान्तरण गरेका थिए । पोखरा -२२ अर्चलबोट निवासी भिमनाथ बास्तोलाले विद्यालयलाई सहयोग स्वरूप पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरे ।
वार्षिकोत्सवको अवसरमा विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याउने शिक्षक कृष्ण प्रसाद रेग्मी र विद्यालयमा इन्जिनियरिङ सहयोग गर्ने इन्जिनियर विनोद बास्तोला सम्मानित भए । विद्यालयले वर्षभरिमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र अतिरिक्त क्रियाकलापमा सहभागी भई विजेता भएका विद्यार्थीलाई पुरस्कृत गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बास्तोलाको अध्यक्षता भएको कार्यक्रममा प्रधानाध्यापक भगवती रेग्मी बरालले विद्यालयको समग्र अवस्था बारेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।