
पोखरा । पोखराबाट १८ हजार आठ सय ४० चक्की लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर २५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ साढे छ बजेको समयमा ठुलो मात्रामा लागू औषधसहित सुवेदीलाई पोखरा ८ आलुमाइलाचोकबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आलुमाइलाचोकमा लागू औषधको कारोवार भैरहेको सुचना पाएको प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा ठुलो मात्रामा लागू औषधसहित सुवेदी पक्राउ परेका हुन ।
आलुमाइलाचोकमा स्कुटरमा लुकाई छिपाई राखेको ट्यापेनट्याडोल १०० एमजी नामको लागूऔषध चार सय चक्की बरामद गरेको प्रहरी टोलीले अभियुक्त सुबेदीको घरको कोठाबाट दुई वटा कार्टुन र एउटा जेब्रा झोलामा ट्यापेनट्याडोल १०० एमजी नामको लागूऔषध १७ हजार सातसय ८० चक्की बरामद गरेको हो । निजकै पोखरा ४ रामकृष्ण टोलस्थित कोठाबाट सोहि नामको अबैध लागूऔषध दुई सय चक्की र टुमोल ५० एमजी लेखिएको लागूऔषध चार सय ६० चक्की समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त सुबेदीबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।