देश/ समाजसमाचार

ऐतिहासिक गढी संरक्षणमा विभाग र लिम्बू समुदायको चासो

तेह्रथुम, ६ पुस। संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरू लोप हुँदै गएका छन् । पहिलो पुस्ताले संरक्षणमा ध्यान नपुर्‍याउनु र पछिल्लो पुस्ताले पनि चासो नदिनुले यी र यस्ता सम्पदाहरू लोप हुँदै गएका हुन् ।

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायसँग अस्तित्व जोडिएका ऐतिहासिक सम्पदाहरू लोप भइरहेको बेला तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ (यक) गढी संरक्षणमा चासो दिन थालिएको छ ।

नेपाल एकीकरण पूर्व लिम्बूहरूको आ–आफ्नै गढ निमार्ण गरी राज्य सञ्चालन गर्दै आएका थिए । सोहीअनुसार योमुई चाम्खासिङ गढी खजुम लिम्बूहरूको पुर्खाहरूको गढी रहेको थियो । संरक्षणको अभावमा भग्नावशेष मात्र रहेको यो गढी संरक्षणका लागि पुरातात्व विभागसँग सहकार्य गरी संरक्षणमा जुट्दै आएको गढी निमार्ण संयोजक तथा युवा खोज अभियान्ता चिनकुमार लिम्बूले बताए ।

लिम्बुका अनुसार गढी संरक्षणका लागि देश तथा विभिन्न मुलुकहरूमा खजुम लिम्बूहरूले अभियान सञ्चालन सुरु गरेका छन् । गढीसँगै यहाँ रहेका ऐतिहासिक स्थलहरू बगरेट, बहार मन्दिर, कालुमडाडालगायतका स्थानहरूलाई संरक्षण गर्ने तयारी भइरहेको छ ।

लिम्बू समुदायको विवाहपश्चात सयमुन्द्री (बागदत्त) छिनाउँदा र लगन राख्दा गढीलाई सम्बोधन गर्ने गरिन्छ । लिम्बु समुदायसँग अस्तित्व जोडिएको स्थल भएकाले संरक्षणमा जोड दिनुपर्ने पुरातत्व विभागका अम्बिका खजुमको भनाइ छ । गढी संरक्षणका लागि समिती नै निमार्ण गरी केही वर्ष अघिदेखी अभियान सुरु भएको छ ।

खजुम लिम्बूहरूको पहिचानको रूपमा रहेको गढीलाई संरक्षण गर्दै पछिल्लो पुस्तालाई समेत अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले संरक्षणमा जुटेको योमुई चाम्खासिङ खजुमहाङ चुम्भोका केन्द्रीय अध्यक्ष उमेशचन्द्र पारघारीले बताए ।

खजुम लिम्बुहरू कुरुम्भङ, चोङबाङ, पारघारी, लेक्वा र वयाङ खजुम गरी पाँच थरी छन् । गढी संरक्षणमा खजुम लिम्बूहरूको अग्रजदेखि युवा पुस्ताहरूले ध्यान दिन आवश्यक देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button