बुटवल, २१ माघ। टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल नजिक चट्याङ परेका कारण टावरमा समस्या आएको विमानस्थलले जनाएको छ ।
शुक्रबार परेको वर्षा र हावासँगै विमानस्थल नजिकै चट्याङ परेको थियो । टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
उहाँका अनुसार करिब चार बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुँडिएको र रन वेको पापी (पिएपिआइ) लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले जानकारी दिए ।
‘टावरमा समस्या आएको कारण विमानस्थल बन्द गरिएको छ,’ दाहालले भने, ‘शनिबार पापी लाइट बने राती अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।’
विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट विभिन्न जिल्ला जान हिँडेका यात्रु र यहाँ आउने यात्रु प्रभावित भएका छन् ।